अष्ट्रेलिया सहज जित

सिड्नी । न्युजिल्यान्डसँगको चौथो टि२० आई खेलमा अष्ट्रेलिया ५० रनले विजयी भएको छ । योसँगै पाँच टि२० आई सिरिज २–२ को बराबरी अवस्थामा पुगेको छ । जितका लागि १ सय ५७ रनको विजयी पछ्याएको घरेलु टोली न्युजिल्यान्ड १८.५ ओभरमा १ सय ६ रनमा अल आउट भयो । न्युजिल्यान्डका तल्लोक्रमका काइल जामिसनले १८ बलमा ५ चौका सहित सर्वाधिक ३० रनको योगदान दिए । टिम सिफर्टले १९ र देभन कन्वे १७ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

कप्तान केन विलियम्सन ८, मार्टिन गुप्टिल ७, ग्लेन फिलिप्स १, जेम्स निसम र मिचेल सान्टनर ३–३ रनमा आउट भए । अष्ट्रेलिया तीव्र गतिका बलर केन रिचर्डसनले २.५ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । एस्टन अगर, एडम जाम्पा र ग्लेन म्याक्सवेलले २–२ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको अष्ट्रेलियाले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५६ रन बनाएको थियो । अष्ट्रेलिया कप्तान आरोन फिन्च ५५ बलमा ५ चौका र ४ छक्का सहित ७९ रनमा अविजित रहे । म्याथ्यु वेड १४, जोश फिलिपे १३, ग्लेन म्याक्सवेल १८ र मार्कस स्टोइनिस १९ रनमा आउट भए । न्युजिल्यान्डका स्पिनर ईश सोधीले ४ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए । ट्रेन्ट बोल्टले २ र मिचेल सान्टनरले १ विकेट लिए ।

पहिलो र दोस्रो टि२० खेलमा न्युजिल्यान्ड ५३ रन र ४ रनले विजयी भएको थियो । तेस्रो खेलमा अष्ट्रेलिया ६४ रनले विजयी भएको थियो । पाँचौं तथा निर्णाक खेल आइतबार हुने छ ।

प्रतिक्रिया