नेपाल–पाकिस्तान फ्रेन्डसिप क्रिकेट सुरु

काठमाडौं । नेपाल–पाकिस्तान फ्रेन्डसिप टी–ट्वान्टी क्रिकेटमा हाम्रो किचेन क्रिकेट क्लबले विजयी सुरुवात गरेको छ । शुक्रबार धुम्बाराहीस्थित पाकिस्तानी दूतावासको मैदानमा भएको उद्घाटन खेलमा आयोजक पाकिस्तानी दूतावासलाई ७८ रनले हराउँदै हाम्रो किचेनले सुखद् सुरुवात गरेको हो । पहिले ब्याटिङ गरेको हाम्रो किचेनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८६ रन बनाएको थियो । हाम्रो किचेनका शुभमले ६८ र निखिलले ४८ रन बनाए ।
पाकिस्तानी दूतावासका मिरले २ विकेट लिए ।

१८७ रनको लक्ष्य पछ्याएको आयोजक दूतावासले अलआउट हुनुपूर्व १०७ रन मात्र बनाउन सक्यो । उसका लागि अमिरले ५२ रन बनाए । हाम्रो किचेनका शुभमले ३ विकेट लिए । आशिष र अभियानले २/२ विकेट लिए । प्रतियोगितामा सहभागी १२ टोलीलाई चार समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहमा तीन टोली रहेका छन् । समूह ‘ए’मा पाकिस्तानी दूतावास, हाम्रो किचेन क्रिकेट क्लब र लायन क्रिकेट क्लब रहेका छन् । समूह ‘बी’मा बालुवाटार क्रिकेट क्लब, बल पार्क एकेडेमी र काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर छन् ।

यस्तै समूह ‘सी’मा आरएस विधापिठ एकेडेमी, ग्रेट हिमालय क्रिकेट एकेडेमी र पुल्चोक इन्जिनियरिङ क्याम्पस (आईओई) रहेका छन् । समूह ‘डी’मा एन्जल्स हार्ट एकेडेमी, बासुलिङ क्रिकेट एकेडेमी र स्कुल अफ क्रिकेट छन् । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र नेपालका लागि पाकिस्तानी राजदूत सैयद हेदर शाले प्रतियोगिताको उद्घाटन गरेका थिए ।

प्रतिक्रिया