हिमालयन ह्वाइटहाउसको सहज जित

काठमाडौं । धनगढीमा जारी विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) प्रतियोगितामा सोमबार रुपन्देहीको न्यू एकेडेमी र काठमाडौँको हिमालयन ह्वाइट हाउस विजयी भएका छन् । दिनको पहिलो खेलमा न्यू एकेडेमीले दाङको रोजी बर्ड्सलाई १ सय ५ रनले हरायो । टस जितेर पहिला ब्याटिङ रोजेको न्यू एकेडेमीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७० रन बनाएको थियो । अंकित बिएमले ३३, सन्दिप विष्टले ३१ र सुवाश थापाले ३० रनको योगदान दिए । आशिष सुवेदीले ३, विजय विश्वकर्मा र यकुव मियाले २–२ विकेट लिए ।

जितका लागि १ सय ७१ रनको विजयी लक्ष्य पछ्याएको रोजी बर्ड्स १७.१ ओभरमा ६५ रनमा अल आउट भयो । खुम चौधरीले २० रन बनाउन बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन छुन सकेनन् । रोजी बर्ड्सलाई सस्तैमा समेट्न सन्दीप विष्टले ३, सुरेश रावल र अनिल थापाले २–२ विकेट लिए । खेलका म्यान अफ द म्याच न्यू एकेडेमीका सन्दिप विष्ट भए ।

दिनको दोस्रो खेलमा ह्वाइट हाउसले कञ्चनपुरको लिटल बुद्ध एकेडेमीलाई ८ विकेटले हराउन पुग्यो । टस जितेर पहिला ब्याटिङ रोजेको लिटल बुद्ध १७.५ ओभरमा ७२ रनमा अल आउट भयो । रोयल बम र राजेश ऐरले १५–१५ रन बनाए । ह्वाइट हाउसका स्पिन अलराउन्डर गजेन्द्र बोहराले सर्वाधिक ५ विकेट लिए । सन्दीप शाहीले ३ विकेट लिए । जितका लागि ७३ रनको विजयी पछ्याएको ह्वाइट हाउसले ११.३ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । दीपक बोहरा ५० रनमा अविजित रहे । निश्चल थापाले १९ रन जोडे । सागर भण्डारी र राजेश ऐरले १–१ विकेट लिए । खेलका म्यान अफ द म्याच गजेन्द्र बोहरा चुनिए ।

प्रतिक्रिया