चीनले ८ लाख डोज खोप दिने

काठमाडौं । चीनले नेपाललाई अनुदानमा दिने कोभिड भ्याक्सिन (खोप) को मात्रा बढाएर ८ लाख डोज पु¥याउने भएको छ । शुरुमा तीन लाख मात्र दिने बताएपनि पछि बढाएर ८ लाख बनाएको हो । ८ लाख कोभिडविरुद्धको खोप दिने निर्णय भएको नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले जानकारी दिइन् । ‘कोभिड–१९ महामारीविरुद्धको नेपालको लडाइँमा सहयोग गर्नका लागि चिनियाँ सरकारले नेपाललाई अनुदानमा दिने भ्याक्सिनको परिमाण बढाएर ८ लाख डोज पु¥याउने निर्णय गरेको छ,’ राजदूत यान्छीले भनिन्, ‘यसमा छिटो विजय हासिल गर्नका लागि हातेमालौं गरौं ।’

चीनले सुरुमा नेपाललाई तीनलाख डोज कोभिड भ्याक्सिन दिने घोषणा गरेको थियो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन कुराकानी हुँदा वाङले त्यसलाई बढाउने प्रतिबद्धता गरेका थिए । भारतले पनि नेपाललाई १० लाख डोज कोभिडविरुद्धको खोप अनुदानमा प्रदान गरेको छ । त्यसपछि नेपालले भारतबाटै २० लाख डोज खरिद गरेपनि अहिले १० लाख डोज आइसकेको छ । यसैबीच, संघीय संसदका प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुले कोरोना भाइरसविरुद्धको खोप पाउने भएका छन् । संसद सचिवालयले स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखालाई खोप लगाउने सांसद तथा संसदका कर्मचारीहरुको विवरण समेत पठाइसकेको छ । शाखाका प्रमुख डाक्टर झलक शर्मा गौतमले संसद सचिवालयबाट खोप लगाउन १ हजार ५ सय जनाको विवरण प्राप्त भइसकेको पनि जानकारी दिए ।

‘संसद सचिवालयलाई खोप लगाउनेको विवरण माग गरेका थियौं,’ डा गौतमले भने, ‘खोप लगाउने सांसद तथा कर्मचारीहरु १५ सय जना हुनुहुन्छ भन्ने जानकारी प्राप्त भएको छ ।’ डा गौतमका अनुसार सांसद तथा कर्मचारीहरुलाई फागुन १९ देखि २१ गतेसम्म बानेश्वरस्थित निजामती अस्पतालमा खोप लगाउने तयारी गरिएको छ ।
संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसदहरु, कर्मचारीहरु, अन्तराष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी, सुरक्षाकर्मी, मर्यादा पालक र संसदिय मामिला विटका पत्रकार लगायत करिव १५ सय जनालाई खोप लगाइने जानकारी दिए । उनका अनुसार सांसद तथा कर्मचारीका लागि निजामती अस्पतालमा १९ देखि २१ गतेसम्म बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खोप कार्यक्रम संचालन हुनेछ ।

प्रतिक्रिया