देवरलाई बचाउन भाउजुको दौडधुप

कञ्चनपुर । बझाङ केदारस्याँ–४ सुदाडाकी ललिता मल्ल हातमा ब्यानर बोकेर पसलपसलमा पुगेर आर्थिक सहयोग माग्दै हिँडेकी छन् । आर्थिक सहयोग माग्नका लागि हिँडेको ६ महिना बढी भइसकेको छ ।

पसल अगाडि पुगेर ललिताले ब्यानर देखाउँछिन् । त्यसपछि मिर्गौला फेल भएर कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचारको लागि भर्ना भएका २६ वर्षीय देवर भुवन मल्लको अवस्था र घरको आर्थिक अवस्थाबारे बेलिविस्तार लगाउँछिन् ।

कुनै ठाउँबाट आर्थिक सहयोग पाइन्छ । कुनै ठाउँबाट पाउँदिनन् । हरेस नखाइकनै ललिता देवरको ज्यान जोगाउनका लागि हिम्मतका साथ आर्थिक संकलनको अभियानमा खटिएकी ।

आर्थिक अवस्था दयनीय भएकी उहाँ उपचार खर्च धान्न नसक्दा सहयोगका लागि पसलपसल चहार्दै हिँडेकी हुन् । ‘सम्पत्तिका रूपमा पहाडमा पाखो जग्गा मात्रै छ’, ललिताले भनिन्, ‘जग्गाबाट वर्षभरि खानसमेत पुग्दैन ।

उपचारका लागि रकमको जोहो गर्ने कुरा कल्पनामा मात्रै सोच्न सकिन्छ । आर्थिक अभावले नै यसरी हिँड्न परेको छ ।’ बूढा सासूससुराको जिम्मामा दूधे बालकलाई छाडेर देवरको ज्यान जोगाउनका लागि आर्थिक सहयोग माग्दै हिँड्न परेको उनले बताइन् ।

भारतको बेङ्ग्लोरमा काम गर्दै गरेका बेला गत वर्ष भुवनको दुवै मिर्गौला फेल भएको हो । मिर्गौला फेल हुँदा काम गर्न नसक्ने भएपछि उनी घर फर्किएका थिए ।

‘घरमा रहेको थोरै रकमले अस्पतालमा भर्ना गरे पनि डायलासिस गराएपछि लगाउने सुई र औषधिका लागि पैसा अभाव छ’, ललिताले दुखेसो पोखिन् । कैलाली र कञ्चनपुरमा बजारमा पसल पसल पुगेर संकलन हुने सहयोगले मुस्किलले औषधिको व्यवस्था गर्न सकिएको उनले बताइन् ।

‘अनेक जुक्ति निकालेर माग्दै हिँडेका छौँ, आफैँ खानका लागि हो भनेर भन्ने पनि भेटिन्छन्, हामीसँग आफ्नै दुःख छन्, सुनेर पनि नसुनेको जस्तो गरी हिँड्न परेको छ’, उनले भनिन् । चिकित्सकले भुवनको थप उपचारका लागि काठमाडौं लैजान भनेका छन् । मल्ल परिवारसँग काठमाडौं जाने यातायातको भाडासमेत छैन ।

‘चिकित्सकले दुवै मिर्गौला फेर्नुपर्दछ त्यसपछि मात्रै ज्यान जोगिने भनेका छन्’, ललिताले गहभरि आँसु खसाल्दै भनिन्, ‘काठमाडौं पुग्नको लागि भाडा नै छैन, मिर्गौला कसरी फेर्ने हो, उपचार नपाएरै देवरको ज्यान जान लाग्यो । ज्यान जोगाउनका लागि सहयोग गरिदिनु पर्यो ।’

स्वास्थ्य कार्यालय बझाङले सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयलाई आर्थिक अवस्था कमजोरसँगै विपन्न नागरिक रहेकाले सहयोग उपलब्ध गराइदिनका लागि सिफारिस साथ पत्राचार गरे पनि सुनुवाइ भने हुन सकेको छैन । गाउँपालिकाले समेत सहयोग नगरेको पीडित परिवारको गुनासो छ ।

नागरिक सुशासन समिति शुक्लाफाँटा नगरपालिका झलारी, कञ्चनपुरका अध्यक्ष वीरबहादुर बोहरा पीडामा रहेका व्यक्तिलाई मलम लगाउने कार्य स्थानीय तहले गर्नुपर्ने बताउँछन् । ‘मिर्गौलापीडितको डायलासिस अस्पतालले गर्ने कार्य निःशुल्क गराउँदै आएको छ’, उनले भने, ‘जानकारी नभएर र प्रक्रिया नजानेर पीडितले पीडा खेप्नुपरेको छ, यसका लागि सहजीकरण गरिदिनुपर्छ ।’

अध्यक्ष बोहराले सहयोग माग्दै हिँडेकी ललितालाई भुवनको उपचारमा सघाउ पुर्याउनका लागि रु एक हजार ५०० सहयोगसमेत गरेका छन् । उनले भने, ‘आर्थिक अभावले पीडामा बाँचेका व्यक्तिको दुःखमा साथ दिनु नै मानवीय धर्म हो, जसको सबैले पालना गर्नुपर्छ ।’

मिर्गौला प्रत्यारोपणका लागि मल्ल परिवारले एभरेष्ट बैंकमा रहेको खाता नम्बर ०११००५०१२३०४८ मा रकम जम्मा गरी ज्यान जोगाइदिनका लागि दातृ निकाय, व्यक्ति, संघसंस्थासँग आग्रहसमेत गरेको छ । – रासस

प्रतिक्रिया