कावा नगरप्रमुखद्वारा स्तनपान कक्ष र अपांगमैत्री वडा कार्यालयको उद्घाटन

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिकामा सुविधा सम्पन्न वडा कार्यालय भवन सञ्चालनमा आएको छ ।
जितपुरसिमरा उपमहानगरपालिका–१८ को बडहर्वामा स्तनपान कक्षसहित अपांगमैत्री वडा कार्यालय भवनको कार्यवाहक नगरप्रमुख भोलाप्रसाद अधिकारीले आइतबार एक कार्यक्रमको बीच उद्घाटन गरेका छन् ।

वडा कार्यालय भवन सञ्चालनमा आएपछि स्थानीयहरू खुसी भएका छन् । गाविसको साँघुरो भवनबाट सेवा दिँदै आएको वडा कार्यालयले आफ्नै भवन निर्माण गरेर सञ्चालनमा ल्याए पछि सेवाग्राहीहरू खुसी भएका छन् । जीतपुरसिमरा उपमहानगरपालिका–१८ र कलैया उपमहानगरपालिका–२४ को कार्यालय एउटै भवनबाट सञ्चालन भइरहेको बेला सेवा लिन जाने सेवाग्राहीलाई सास्ती खेप्नु परिरहेको थियो । तर, अब वडाले आफ्नै नवनिर्मित २ तल्ले वडा कार्यालय भवन सञ्चालनमा ल्याएपछि सेवाग्राहीलाई सहज भएको छ ।

वडा कार्यालय भवन उद्घाटन कार्यक्रममा बोल्दै कार्यवाहक नगरप्रमुख भोलाप्रसाद अधिकारीले ‘वडा कार्यालय व्यवस्थित नभएसम्म वडा तहको कार्य सम्पादन व्यवस्थित हुन सक्दैन, ‘त्यसैले पूर्वाधार निर्माण प्राथमिकतामा पारेर अहिले निर्माण हुन् बाँकी रहेको वडा कार्यालयहरूको भवन निर्माण भइरहेको छ ।’ उद्घाटन कार्यक्रममै बोल्दै प्रमुख प्रशासकीय अधिकृत शिवजीप्रसाद साहले नगरका वडा कार्यालय भवनहरू निर्माण गर्न पाउँदा खुसी लागेको बताए । उनले भने, ‘व्यवस्थित वडा कार्यालय भवनहरू निर्माण भएका छन्, यसले कर्मचारी र सेवाग्राही सबैलाई सहज भएको छ ।’

वर्षाको समय र घामको समयमा पुरानो वडा कार्यालय भवनमा सेवा लिन जाँदा कठिनाइ हुने गरेको एउटै भवनबाट २ वटा वडा कार्यालय सञ्चालन भइरहँदा बस्नेसमेत ठाउँ थिएन । तर, अहिले निर्माण भएको वडा कार्यालय सुविधा सम्पन्न भएकोले सेवा लिन जाँदा धेरै सहज हुने जीतपुरसिमरा उपमहानगरपालिका–१८ का राजन पौडेलले बताए । गाविस भवनबाट २ वटा वडा कार्यालयले सेवा दिँदा वृद्धवृद्धाहरूलाई निकै नै समस्या हुने गरेको थियो । पुरानो वडा कार्यालयमा सेवा लिन जाँदा खुल्ला चौरमा बस्नुपर्ने गरेको स्थानीय गोपीकृष्ण खतिवडाले बताए ।

जितपुरसिमरा उपमहानगरपालिकाको–१८ को कार्यालयले झन्डै ७ वर्षपछि आफ्नै वडा कार्यालय भवन निर्माण गरेर सञ्चालनमा ल्याएको छ । नवनिर्मित वडा कार्यालयबाट सेवा दिँदा आफूहरू पनि खुसी भएको वडा कार्यालयले जनाएको छ । नयाँ वडा कार्यालय भवन निर्माणबाट प्रत्यक्ष रूपमा जनताहरूले सुशासन अनुभूति हुने गरी वडा कार्यालय सेवा प्रदान गर्ने वडा अध्यक्ष चतुरबाबु वाग्लेले बताए ।

स्तनपान कक्षसहित अपांगमैत्री वडाको प्रशासनिक भवन उद्घाटन समारोहका बीच वडाको विकासमा योगदान गरेका आधा दर्जन व्यक्तिहरूलाई सम्मान पनि गरिएको छ । जितपुरसिमरा उपमहानगरपालिकामा पहिलोपटक स्तनपान कक्षसहित अपांगमैत्री वडा कार्यालय भवन सञ्चालनमा आएको छ ।

६२ लाख ६० हजार लागतमा बनेको वडा कार्यालयमा सुविधा सम्पन्न ८ कोठे भवन रहेको छ । वडा भवन उद्घाटन समारोहमा पूर्व गाविस अध्यक्ष रामदयाल चौधरी, पूर्व वडा अध्यक्ष अर्जुनप्रसाद दाहाल, हरिलाल चौधरी, साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वा अध्यक्ष नयनकला खड्का लगायतको उपस्थित रहेको थियो ।

प्रतिक्रिया