बी डिभिजन लिग : खुमलटार र ब्वाइज युनियन विजयी

काठमाडौं । महेश राईले तेस्रो मिनेटमा गरेको गोल निर्णायक बन्दा खुमलटारले झम्सिखेल युथ क्लबमाथि आइतबार ‘बी’ डिभिजन लिगमा साँघुरो जित निकाल्दा अर्को खेलमा मिलन लिम्बूको ह्याट्रिकबाट ब्वाइज युनियनले नयाँ वस्ती युवा क्लबमाथि ३–० को सहज जित निकालेको छ । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा खुमलटारले जारी लिगमा छैटौं जित निकालेको हो । प्रतिस्पर्धात्मक बनको खेलमा खुमलटारले पहिलो हाफमा लिएको अग्रतालाई जोगाएर महत्वपूर्ण तीन अंक लिग तालिकामा अंक जोड्न सफल भएको हो ।

रोमाञ्चक जित निकालेको खुमलटाले ८ खेलबाट तालिकामा १९ अंक बनाएको छ । यससँगै खुमलटारले शीर्ष स्थानमा एक खेल खेले अटाएको सातदोबाटोसँग अंक बराबरी गरेको छ । यस्तै पराजित झम्सिखेलको ८ खेलबाट ६ अंक छ । लिगकै अर्को खेलमा मिलन लिम्बूको ह्याट्रिकमा ब्वाइज युनियनले नयाँ वस्ती युवा क्लबमाथि सहज जित निकालेको हो । ह्याट्रिक गरेका मिलनले २१ औं मिनेटमा टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा व्यक्तिगत दोस्रो गोल थप्दै ब्वाइज युनियनलाई पहिलो हाफमा २–० को अग्रता दिलाएका थिए ।

पहिलो हाफमा उत्कृष्ट खेल प्रदर्शन गरेको लिम्बूले दोस्रो हाफमा पनि निरन्तरता दिए । ५७ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेपछि बाँकी समयमा थप गोल हुन सकेन र ब्वाइज युनियनले सहज जित निकाल्न सफल भयो । जितसँगै ब्वाइज युनियनको ८ खेलबाट १४ अंक भएको छ । पराजित नयाँ बस्तीको ८ खेलबाट ११ अंक छ । लिगमा सोमबार पनि दुई खेल हुनेछन् । पहिलो खेल रानीपोखरी कर्नर टिम (आरसीटी) र टु–साल क्लब तथा दोस्रो खेल सातदोबाटो युथ क्लब र श्री भगवती क्लब बीच खेल हुनेछ । दुबै खेल एन्फा कम्प्लेक्समा हुनेछन् ।

प्रतिक्रिया