साइक्लिङ च्यालेञ्जको उपाधि निर्धललाई

झापा । आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरेको जेनियम साइक्लिङ च्यालेञ्ज प्रतियोगिताको उपाधि पाँचथरका निर्धल केरुङले जितेका छन् । जेनियम युवा क्लब धुलाबारी झापाले शनिबार आयोजना गरेको साइक्लिङ प्रतियोगितामा केरुङले चालिस किलोमिटरको यात्रा एक घण्टा २८ मिनेटमा पूरा गरी प्रथम उपाधि जितेका हुन् । उनले नगद ३५ हजारसहित ट्रफी र गिफ्टह्यम्पर प्राप्त गरेका छन् । झापा, इलाम, पाँचथर र ताप्लेजुङबाट सहभागी भएको प्रतियोगितामा दोस्रो उपाधि ताप्लेजुङका आशिष गुरुङले र तेस्रो उपाधि ताप्लेजुङका प्रवीण राईले हाता पारेका छन् । उनीहरू दुवैलाई क्रमशः नगद ३० र २५ हजारसहित ट्रफी र गिफ्टह्याम्पर प्रदान गरिएको छ ।

त्यस्तै चौथो हुने सचिन रिमाललाई तीन हजार, पाँचौँ हुने आकाश श्रेष्ठलाई दुई हजार तथा छैँटौँ हुने विष्णुकुमार राई, सातौँ हुने प्रसिद्व बस्नेत, आठौँ हुने सुदीपकुमार गडेरी, नवौँ हुने युद्व राई र दशौँ हुने अजय राई (भूपू) लाई जनही एक हजार नगदसहित ट्रफी र गिफ्टह्याम्पर प्रदान गरिएको क्लबका अध्यक्ष धनराज थापाले बताए । उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं १ प्रदेशसभाका सदस्य गोपालचन्द्र बुढाथोकीले पुरस्कार वितरण गरेका थिए । ‘साइकल चलाऊ, स्वस्थ रहौँ, पर्यावरण जोगाऔँ, आन्तरिक पर्यटन प्रवर्धन गरौँ’ भन्ने नाराका साथ शनिबार धुलाबारीदेखि शुरु भई शरणार्थी शिविर, शान्तिनगर, बहुवन, बेसीँबजार, तेलपानी, बौद्धमोड, बाहुनडाँगी, नकलबन्दा, काँकरभिट्टा, इँटाभट्टा हुँदै ४० किलोमिटरको दूरी पार गरी पुनः धुलाबारीमा आएर प्रतियोगिता समापन भएको थियो ।

प्रतिक्रिया