किसुनजीको नाममा हाफ म्याराथन हुने

काठमाडौं । नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशले अर्को महिना पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता स्वर्गिय कृष्ण प्रसाद भट्टराई (किसुनजी) को नाममा महिला तथा पुरुष हाफ म्याराथन आयोजना गर्ने भएको छ । संघका प्रदेश संयोजक एवं केन्द्रिय सदस्य दीपक गुरुङले चैत्र २२ गते प्रथम किसुनजी स्मृती राष्ट्रिय महिला तथा पुरुष खुल्ला हाफ म्याराथन प्रतियोगिता २०७७ आयोजना गर्न लागिएको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । नेपाली राजनीति र नेपाली खेलकुदको क्षेत्रमा किसुनजीको योगदानलाई स्मरण गर्दै प्रतियोगिता आयोजना गर्न लागिएको गुरुङले बताए । भट्टराई प्रधानमन्त्री हुँदा नेपालले काठमाडौंमा आठौं दक्षिण एसियाली खेलकुद (साग) आयोजना गरेको थियो । त्यति बेला नेपाल पहिलो पटक पदक तालिकाको दोस्रो स्थानमा रहन सफल भएको थियो ।

प्रतियोगितालाई भविष्यमा अन्तराष्ट्रिय स्तरको प्रतियोगिताको रुपमा रुपान्तरित गर्दै लक्ष्य रहेको बताए । संघले नयाँ खेलाडी उत्पादन, खेलकुदको व्यसायिकरण र सन्यासपछिको सहज जीवनका लागि आउने दिनमा सम्बन्धित निकायमा पहल गर्ने पनि गुरुङले बताए । म्याराथनका महिला र पुरुषतफृका दुवै विजेताले उपाधिसहित २५ हजार, दोस्रोले १५ हजार, तेस्रोले १० हजार तथा चौथो र पाँचौंले समान ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । संघको प्रचारका लागि पनि तत्काल हाफ म्याराथनको आयोजना गरिएको जनाउँदै संयोजक गुरुङले भविष्यमा अन्य प्रतियोगिता पनि आयोजना गर्ने योजना रहेको सुनाए ।

म्याराथन काठमाण्डौ क्षेत्र नं. ४ गोल्फुटारस्थित बास्केटबल कोर्टबाट सुरु हुँदै धुम्बाराही चोक, चावहिल, गौशाला, रातोपुल, ज्ञानेश्वर, कमलपोखरी, जयनेपाल हल, दरवारमार्ग, केशरमहल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, नारायणगोपाल चोक, बुढानिलकण्ठ प्रहरी बिट हुँदै पुनः सोहिस्थानमा पुगेर टुंगिने तय भएको जानकारी दिइयो । नेपाल एथलेटिक्स संघका सचिव एवंम प्रतियोगिताका निर्देशक आरके विष्टले हाफ म्याराथन कमै आयोजना भइरहेको सन्दर्भमा यसरी प्रतियोगिता आयोजना हुनु सुखद भएको बताए । संयोजक गुरुङले प्रतियोगितामा ८० खेलाडीको सहभागिता रहने अनुमान गरिएको बताए ।

प्रतिक्रिया