नेपाल बैंकका अध्यक्षको शपथ ग्रहण

काठमाडौ । अर्थ मन्त्रालयको तर्फबाट सञ्चालक पदमा नियुक्त भएका मधुकुमार मरासिनीले बैंक सञ्चालक समितिको अध्यक्ष पदको शपथ ग्रहण गरेका छन । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले नवनियुक्त अध्यक्षलाई बधाई तथा शुभकामना दिए । उनले प्रतिस्पर्धी ब्याजदर, समयानुकूल नीति, रणनीतिको माध्यमबाट बैंकको वित्तीय अवस्थालाई अझ मजबुत बनाउन साथै विपन्न वर्ग कर्जा, सहुलियतपूर्ण कर्जाको विस्तारबाट उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्न नेपाल बैंकको विशेष योगदान रहने विश्वास व्यक्त गरे ।

कार्यक्रममा आफ्ना विचार व्यक्त गर्दे नव नियुक्त अध्यक्ष मरासिनीले नेपालको पहिलो बैंकको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी निर्वाह गर्ने अवसर प्राप्त भएकोमा खुशी व्यक्त गरे । यो जिम्मेवारीका लागि नेपाल सरकार, नेपाल राष्ट्र बैंक तथा बैंक सञ्चालक समितिका सदस्यप्रति आभार पनि व्यक्त गरे । उनले बैंकको वित्तीय परिसूचकमा थप सुधार ल्याउन तथा बैंकको व्यावसायिक विकासका लागि बैंकलाई नयाँ उर्जा र गतिका साथ अघि बढाउन प्रयत्नशील रहने प्रतिबद्वता पनि व्यक्त गरे ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनरद्वय चिन्तामणी शिवाकोटी र शिवराज श्रेष्ठ, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल, बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक मुकुन्द क्षेत्रीलगायत नेपाल राष्ट्र बैंकका उच्चपदस्थ अधिकारीको उपस्थिति रहेको थियो । बैंक सञ्चालक समितिका सदस्य दीपेन्द्रविक्रम थापा, केदारप्रसाद पनेरु, डा.सावित्री रञ्जित श्रेष्ठ, विवेकशमशेर जबरा, विष्णुकुमार अग्रवाल र ओमकृष्ण श्रेष्ठको उपस्थिति रहेको विज्ञप्तिमा उल्लेख छ । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले बैंकको पछिल्लो वित्तीय अवस्थाको संक्षिप्त जानकारी गराएका थिए ।

प्रतिक्रिया