राष्ट्रिय महिला लिग फुटबल : आर्मी र पुलिसको बराबरी

काठमाडौं । राष्ट्रिय महिला लिग अन्तर्गत दशरथ रंगशालामा भएको उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । खेलको १२ औं मिनेटमा आर्मीकी सपना लामाले वन भर्सेस वनमा गोल गर्ने अवसर चुकाइन् । अर्कोतर्फ पुलिसकी रञ्जिता गुरुङको क्रसमा निरु थापाको प्रहारलाई गोलरक्षक अन्जना रानामगरले विफल पारिन् । ३१ औं मिनेटमा निरले नै गोलको अवसर चुकाइन् । आर्मीको डिफेन्सले क्लियर गर्न नसकेको बललाई उनले गोलरक्षक बिट भएपनि गोलतर्फ प्रहार गर्न सकिनन् । ३८ औं मिनेटमा रेखा पौडेलले दिएको पासमा निरु थापाले गोलरक्षक पोजिसनमा नभएको अवस्थामा गरेको प्रहार आर्मीकी कप्तान कविता धिमालले क्लियर गरिदिइन् ।

पहिलो हाफको ५ मिनेट बाँकी रहँदा आर्मीले अग्रता लिन सकेन । विमला चौधरीको हेडर पासमा शर्मीला थापामगरको प्रहार गोलरक्षक सपना राईले बचाइन् । लगत्तै सपनाको प्रहार गोेललाइनमा आर्मीकै विमला चौधरीलाई लाग्दै गोल हुन सकेन । दोस्रो हाफको ६५ औं मिनेटमा रेखाले गोलरक्षक अघि बढेको अवस्थामा पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारले पोस्टको दिशा लिन सकेन । दुई मिनेटपछि आर्मीकी पुनम जर्घा मगरले ३५ यार्ड टाढाबाट गरेको प्रहार गोलरक्षक सपनाले सहजै बचाइन् ।

७१ औं मिनेटमा इन्दिरा राईले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई सपनाले उत्कृष्ट डाइभ दिँदै बचाइन् । लगत्तै रश्मीको प्रहारमा सपना बिट भएपनि घिमकुमारी गुरुङले गोल हुन दिइनन् । ८१ औं मिनेटमा मणी गुरुङले गोललाइनबाट क्लियर गर्दा पुलिस पछि पर्नबाट जोगियो ।
रश्मी कुमारी घिसिङले ८७ औं मिनेटमा पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार पोस्टभन्दा थोरै माथिबाट जाँदा आर्मी अग्रता लिनबाट चुक्यो ।
यस बराबरीसँगै दुवै टोलीले लिगमा अंकको खाता खोलेका छन् । बिहीबार एन्फा कम्प्लेक्समा एपिएफ र चन्द्रपुर नगरपालिका तथा विराटनगर महानगरपालिका र वालिङ नगरपालिका खेल्नेछन् ।

प्रतिक्रिया