अखिल नेपाल फुटबल संघ (एन्फा) को १९औँ साधारणसभा सम्पन्न

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को १९औँ एन्फा अर्डिनरी कंग्रेस (साधारणसभा) बैठक सम्पन्न भएको छ । कार्यक्रम मंगलबार राजधानीको सानेपास्थित हेरिटेज गार्डेनको सभाहलमा सोही संघका अध्यक्ष कर्मा छिरीङ शेर्पाको सभापतित्वमा सम्पन्न भएको हो ।

उक्त कार्यक्रम प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री दावा तामाङले पानसमा बत्ती बालेर उद्घाटन गरे । त्यस्तै, अन्य अतिथिहरुमा युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवाल, नेपाली कंग्रेस खेलकुद विभागका प्रमुख मोहन बस्नेत, राष्ट्रिय खेलकुद महासंघका अध्यक्ष पुरुषोत्तम प्रसाद पौडेल, नेपाली कंग्रेस खेलकुद विभागका सचिव मिन कृष्ण महर्जन, नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी, राष्ट्रिय खेलकुद परिषदका प्रतिनिधि डेम बहादुर बस्नेत, नेपाल ओलम्पिक कमिटिका प्रतिनिधि रमेश प्रसाद शिवाकोटी लगायत विभिन्न जिल्लाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

कार्यक्रमको स्वागत मन्तव्यमा संघका अध्यक्ष छिरीङ शेर्पाले गत महिना भदौमा हुनुपर्ने साधारणभा विश्वभर महामारीले फैलिएको कोरोना भाइरसका कारण अहिले गर्न परेको बताए । साथै, उनले पछिल्लो समयमा नेपालमा पुरुषसहित महिला फुटबल खेलाडीले पनि फड्को मारेको जिकिर गरे ।

अध्यक्ष शेर्पाले भारतलगायत अन्य देशलाई पनि नेपाली महिला खेलाडी टोलीले पराजित गर्न सफल भएको बताए । अखिल नेपाल फुटबल संघ र नेपाली खेलाडीले देशको शिर उच्च बनाएकोप्रति सरकारले मुल्यांकन गरेर फुटबल खेल क्षेत्रमा आगामी दिनमा सहयोगको माग गरे ।

अझै सशक्त रुपमा फुटबल खेललाई अगाडि बढाउन पर्ने भएकाले सबै जिल्लाका प्रतिनिधिहरुलाई एकताबद्ध हुन अध्यक्ष शेर्पाले आग्रह गरे । त्यस्तै, प्रमुख अतिथि मन्त्री दावा तामाङले फुटबलमा भएका प्रगतीको प्रसंसा गर्दै आगामी दिनमा सरकारले भरपूर्ण सहयोग गर्ने बताए । फुटबल खेलले नेपाललाई विश्वभर चिनाउन महत्वपूर्ण भूमिका खेलेको मन्त्री तामाङले चर्चा गरेका थिए ।

‘खेलहरु मध्ये फुटबल नेपालको एक महत्वपूर्ण खेल हो, सरकारले मुल्यांकन गरिरहेको छ र आगामी दिनमा पनि सहयोग गर्न तत्पर रहेको छ’, उनले भने । खेलाडीहरुको अधिकारका लागि पनि सरकारले पहल गरेको मन्त्री तामाङको भनाइ थियो । कार्यक्रममा सहभागी अन्य अतिथिहरुले पनि खेलाडीहरु र अखिल नेपाल फुटबल संघको चर्चा गर्दै शुभकामना दिएका थिए ।

प्रतिक्रिया