सन्दीप लगातार विकेटविहीन

सिड्नी । नेपाली लेगस्पिनर सन्दीप लामिछाने सम्मिलित होबार्ट हरिकेन्सले बिग ब्यास लिग २०२०/२१ अन्तर्गत ४३ औं खेलमा सिड्नी थन्डरलाई ६ विकेटले पराजित गरेको छ । जितका लागि १ सय ७८ रनको विजयी लक्ष्य पछ्याएको होबार्टले १८ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । होबार्टको जितमा विकेटकिपर बेन म्याकडर्मोटले ५६ बलमा ८ चौका र ५ छक्का सहित ९६ रनको उत्कृष्ट विजयी इनिङ खेले । कप्तान पिटर ह्यान्डस्कोम्ब २१ र डेविड मलानले ४२ रनको योगदान दिए । सिड्नीका तनवीर संघाले २ विकेट लिए ।

त्यसअघि क्यानबेरामा टस हारेर पहिला ब्याटिङ थालेको सिड्नीले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७७ रन बनाएको थियो । सिड्नीका साम बिलिंग्सले ३४ बलमा ४ चौका र १ छक्का सहित सर्वाधिक ५० रनको योगदान दिए । उस्मान खवाजा २७, एलेक्स हेल्स २९ र क्यालुम फर्गुसन २३ रनको योगदान दिए । होबार्टका स्कट बोल्यान्डले ४ ओभरमा ४१ रन खर्चेर ४ विकेट लिए । नाथन इल्सको नाममा १ विकेट रह्यो ।

सन्दीपले ४ ओभरमा २८ रन खर्चिदा विकेट भने लिन सकेनन् । यसअघिको खेलमा सन्दीप पर्थ स्कोचर्सविरुद्ध विकेटविहिन बनेका थिए । उक्त खेलमा सन्दीपले ३ ओभरमा २३ रन खर्चेका थिए । होबार्टले शुक्रबार पर्थ स्कोचर्सविरुद्ध खेल्ने छ । होबार्ट ११ खेलमा ६ मा जित र ५ मा हार सहित २३ अंकका साथ चौथो स्थानमा छ ।

सिड्नी विरुद्ध सन्दीपको चार ओभर
सन्दीपलाई होबार्टले पाँचौं ओभरमा बलिङमा ल्याएको थियो । पहिलो बल हेल्सलाई डट राखेका उनले दोस्रो बलमा एक रन खर्चिए । तेस्रो बलमा उस्मान खवाजालाई पनि एक रन दिए । चौथो बलमा वाइड, एक रन, पाँचौ डट र अन्तिम बलमा लेगवाईका रुपमा दुई रन खर्चेका थिए ।

सन्दीपले सातौं ओभरको पहिलो बलमा हेल्सलाई एक र दोस्रोमा खवाजालाई दुई रन खर्चिए । तेस्रो बल डट राखे । खवाजाले चौथो बलमा कभर प्वाइन्टमा चौका प्रहार गरेका थिए । पाँचौ र छैटौं बलमा एक एक रन खर्चिए । दशौं ओभरको पहिलो बल डट राख्दा अन्य पाँचै बलमा एक एक रन खर्चेका थिए । आफ्नो अन्तिम स्पेल लिएर आएका सन्दीपले पहिलो बलमा बिलिंग्सलाई एक रन दिँदा दोस्रो बलमा फर्गुसनले चौका प्रहार गरे । तेस्रो र चौथो बलमा एक एक रन खर्चिए । पाँचौ बलमा वाइड र डट गरे । अन्तिम बलमा पुनः वाइड फालेका सन्दीपले त्यसपछि एक रन दिँदै स्पेल सकाउँदा विकेट विहिन बनेका थिए ।

प्रतिक्रिया