स्पोर्ट्स अवार्ड : यस्तो छ विजेता र उनीहरुले प्राप्त सफलता

काठमाडौं । जलपरी गौरिका सिंह र करातेका मण्डेकाजी श्रेष्ठ १७औँ संस्करणको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’मा वर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन् । १३औँ ‘साग’मा ४ स्वर्णपदक विजेता गौरिका वर्षको उत्कृष्ट महिला खेलाडी घोषित भएकी हुन् । गौरिकाले करातेकी अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायथलनकी सोनी गुरुङलाई पछि पार्दै अवार्ड जितिन् ।

त्यस्तै, मण्डेकाजीले उत्कृष्ट वर्ष पुरुष खेलाडीको अवार्ड पाएका हुन् । मण्डेकाजीले फुटबलका विकेश कुथु, एथ्लेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ र गल्फका सुवास तामाङलाई उछिन्दै अवार्ड जिते । १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा गौरिकाले चार स्वर्णसहित ९ पदक जितेकी थिइन् । २०० मिटर फ्रि–स्टायल, २०० मिटर ब्याकस्ट्रोक, ४०० मिटर फ्रि–स्टायल र १०० मिटर फ्रि–स्टायलमा स्वर्णपदक जितेकी थिइन् । त्यस्तै, उनले ५० र १०० मिटर ब्याकस्ट्रोकमा रजतपदक जितेकी थिइन् भने स्वीमिङ टिम इभेन्ट्समा तीन कास्यपदक जितेकी थिइन् । त्यस्तै, ०७६ मै नेपालगन्जमा आयोजित आठौँ राष्ट्रिय खेलकुदमा गौरिकाले १२ स्वर्ण जित्दै कीर्तिमानमाथि कीर्तिमान कायम गरेकी थिइन् ।

यता, मण्डेकाजीले १३औँ सागमा दुई स्वर्ण जितेका थिए । आठौँ राष्ट्रिय खेलकुदमा एकल कातामा स्वर्णपदक जितेका उनी टिम कातातर्फ भने रजतमै सीमित भएका थिए । गत वर्ष बंगलादेशमा सम्पन्न साफ च्याम्पियनसिपमा भने मण्डेकाजीले एकल कातातर्फ कास्य र टिम कातामा स्वर्णपदक जितेका थिए ।

अरुणाले जितिन् पिपल्स च्वाइज अवार्ड
भलिबलकी कप्तान अरुणा शाहीले पिपल्स च्वाइज अवार्ड जितेकी छन् । अरुणाले पौडीकी गौरिका सिंह, करातेका मण्डेकाजी श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी र बास्केटबलकी सदिना श्रेष्ठलाई उछिन्दै अवार्ड जितेकी हुन् ।
२७ वर्षीया अरुणाले ३७.५२५ प्रतिशत मत प्राप्त गरिन् । यस विधामा करातेका मन्डेकाजीले २८.४५७ प्रतिशत मत ल्याए । बास्केटबलकी सदिनाले १३.४९९ प्रतिशत मत ल्याइन् भने पौडीकी गौरिकाले १३.३०१ प्रतिशत मत हासिल गरिन् । त्यस्तै, फुटबलकी सावित्राले ७.२१८ प्रतिशत मत ल्याइन् ।

एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियसिपमा नेपालले स्वर्ण जित्दा अरुणा कप्तान थिइन् । उनकै कप्तानीमा नेपालले एक सेट पनि नगुमाई स्वर्ण जितेको थियो । त्यस्तै, अरुणाकै कप्तानीमा नेपाल १३औँ सागमा पहिलोपटक फाइनलमा पुगेको थियो । भारतसँग ३–२ को सेटमा पराजित हुँदै नेपाली महिला टिमले रजतपदक जितेको थियो । ‘अरुणालाई जिताऔँ’ भन्दै पोखरामा न्यु डायमण्ड एकेडेमीसँग एपीएफको मैत्रीपूर्ण खेलसमेत खेलाइएको थियो ।

प्रतिक्रिया