पोखरा अन्तराष्ट्रिय म्याराथन फागुन १ गते हुने

कास्की । भूतपूर्व खेलाडी मञ्च नेपालले पोखरामा आयोजना गर्दै आएको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ को १५औँ संस्करण आगामी फागुन १ गते हुने भएको छ ।

म्याराथनको विजेताले दुई लाख तथा द्वितीयले एक लाख, तृतीयले रु ७५ हजार र सान्त्वनाले २५ हजार पुरस्कार प्राप्त गर्ने मञ्चले सोमबार पोखरामा पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दिए ।

सुन्दर पर्यटकीय नगरी पोखरालाई खेलकूदको विश्व मानचित्रमा स्थापित गराइ खेलकूद पर्यटन प्रवद्र्धनका लागि म्याराथनलाई यस वर्ष पनि निरन्तरता दिइएको आयोजकको भनाइ छ । यस वर्षदेखि महिलाका लागि २१ किमी ९हाफ म्याराथन० पोखरा म्याराथनमा समावेश गरिएको मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिए ।

हाफ म्याराथनमा प्रथम, द्वितीय, तृतीय र सान्त्वनाले क्रमशः एक लाख, ७५ हजार रुपैयाँ, ५० हजार र १५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । नेपाली खेलकूदमा महिला खेलाडीको भूमिकासँगै महिलालाई खेलतर्फ आकर्षण गर्न र उनीहरुको प्रतिभालाई उजागर गर्न हाफ म्याराथनले महत्वपूर्ण भूमिका खेल्ने उनको विश्वास छ ।

गण्डकी प्रदेश सरकार तथा पोखरा महानगरसँग भगिनी सम्बन्ध कायम भएका चीन, जापान, बेलायतलगायत विश्वका अन्य मुलुकका खेलाडीलाई म्याराथनमा सहभागिता गराउनका लागि प्रयास भइरहेको अध्यक्ष गुरुङले जानकारी दिए । कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गरी अन्य विभिन्न इभेन्टलाई फरक फरक मितिमा आयोजना गरिने भएको छ ।

जसअन्तर्गत ह्विलचियर दौड महिला र पुरुष तथा दृष्टिविहिन दौड फागुन २२ गते हुनेछ । यसैगरी १० किमी महिला–पुरुष दौड आगामी चैत १४ गते र पाँच किमी छात्र–छात्रा दौड आगामी वैशाख ४ गते सञ्चालन गरिने आयोजकले जनाएको छ । दश किमी महिला–पुरुष दौडमा विजेता १५ हजार तथा द्वितीय र तृतीयले १० हजार र पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिने मञ्चका महासचिव खेम गुरुङले जानकारी दिए ।

ह्लिचियर र दृृष्टिविहीनतर्फका दुवै इभेन्टमा विजेताले सात हजार, द्वितीयले पाँच हजार र तृतीयले तीन हजार रुपैयाँ पुरस्कार पाउनेछन् । यसैगरी छात्र–छात्रा दौडमा प्रथमले १० हजार द्वितीयले सात हजार र तृतीय हुनेले चार हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

म्याराथनका लागि ५० लाख ६० हजार रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अनुमान रहेकामा प्रदेश सरकार, पोखरा महानगरपालिकालगायत सरकारी तथा निजी संघ संस्थाबाट सहयोग संकलन गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया