गौतम बुद्ध कप मंसिर अन्तिममा

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण शून्य रहेको क्रिकेट गतिविधिलाई ब्युँताउने लक्ष्यसहित बागमती प्रदेश क्रिकेट संघको आयोजनामा गौतम बुद्ध कप आयोजना हुने भएको छ । भरतपुरको चितवनमा धुर्मुस सुन्तली फाउन्डेसन द्वारा जनस्तरमा निर्माण भइरहेको रहेको गौतम बुद्ध क्रिकेट रंगशालाको नमुना मैदानमा खेल आयोजना हुने भएको हो । प्रदेश क्रिकेट संघले चितवन जिल्ला क्रिकेट संघसँग सहकार्य गर्दै प्रतियोगिता आयोजना गर्दैछ । प्रतियोगिता संचालनका लागि बागमती प्रदेश र भरतपुर महानगरपालिकाले आर्थिक सहयोग गर्नेछन् । प्रतियोगिताको व्यवस्थापन क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले गर्नेछ ।

मंसिर २७ देखि ३० गतेसम्म चल्ने प्रतियोगितामा राष्ट्रिय टोलीको क्याम्पमा रहेका सबै खेलाडीले खेल्नेछन् । हाल क्याम्पमा रहेका खेलाडी तथा घरेलु क्रिकेटमा नाम चलेका खेलाडीसहित तीन टोली निर्माण गरिनेछ । तीन टोलीले राउन्ड रोबिन लिगपछि ३० गते फाइनल खेल्नेछन् । प्रतियोगिता टि–२० हुने वा ५० ओभरको हुने भन्नेबारे पिचको अवस्था हेरेपछि मात्र यकिन गर्न सकिने आयोजकले जानकारी दिएका छन् ।

विश्वभर कोरोना संक्रमणको कठिन परिस्थितिमा पनि क्रिकेट बिस्तारै सुरु भएको अवस्थामा क्रिकेट ब्युँताउन प्रदेश क्रिकेट संघले यो कदम चलेको हो । प्रतियोगितामा सबै सुरक्षा मापदण्ड पालना गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया