तेस्रो राष्ट्रिय स्पोर्टस फोरम सम्पन्न

काठमाडौं । खेल, खेलाडी, संघ र यस क्षेत्रको जिम्मेवारी तथा कर्तब्यमा केन्द्रित रहेर राष्ट्रिय अथा अन्तर्राष्ट्रिय खेल विज्ञहरूको प्रस्तुतीसँगै नेपाल ओलम्पिक कमिटीको आयोजनामा भएको तेस्रो राष्ट्रिय स्पोर्टस फोरम सम्पन्न भएको छ ।
भर्चुअल माध्यममा आयोजना भएको कार्यक्रममा विज्ञले गरेको प्रस्तुतीमा छलफल पनि भएको थियो। खेलकुद क्षेत्र, संघ र यसका पदाधिकारीलाई ओलम्पिक अभियान र ओलम्पिक भ्यालुज तथा खेलसँग सम्बन्धित गतिविधिबारे जानकारी दिन यस्तो कार्यक्रम हुने गरेको छ ।

कार्यक्रममा श्रीलंकाली ओलम्पिक कमिटीका महासचिव म्याक्सवेल डी सिल्भा र एसियाली ओलम्पिक कमिटी (ओसीए) प्रतिनिधि प्रोफेसर बीएलएच परेरासले ‘ओलम्पिक मूल्य र मान्यता’ बारे आफ्नो प्रतिवेदन पेस गर्नु गरेका थिए । त्यस अवसरमा परेराले ओलम्पिक मूल्य र मान्यताबारे सजगता ल्याउन विद्यालयस्तरमा कार्यक्रम चलाउन आवश्यक रहेको बताए ।

त्यस्तै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) सदस्य स्वेङ मिन ¥युले ‘खेलकुद र वातावरण’ बारे प्रकाश पार्ने क्रममा अहिलेको समयमा वातावरणको विषय सबैभन्दा गहन भएको बताउँदै यसबारे सहजगता जगाउन खेल क्षेत्रले सबैभन्दा बढी भूमिका खेल्नु पर्ने बताए । उनले अब विश्व खेलकुदका लागि वातावरण उत्तिकै महत्त्वको मुद्दा भएको बताए ।

कार्यक्रममा नेपाल ओलम्पिक कमिटी मेडिकल कमिसनका अध्यक्ष डा. सरोजकृष्ण श्रेष्ठले ‘कोभिड–१९’ र नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दूर्गा सुवेदीले ‘संचार क्षेत्र र बजारीकरण’, युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले ‘खेलकुद संरचना र पद्धति’ बारे आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । राष्ट्रिय खेलकुद परिषदको आर्थिक विभाग प्रमुख ऋषिराम पोखरेलले ‘राष्ट्रिय खेलकुद परिषदको लेखा प्रणाली’, उमेश ढकालले ‘कर प्रणाली’, वरिष्ठ अधिवक्ता लोकभक्त राणाले ‘खेलकुद ऐन २०७७’ बारे प्रकाश पारेका थिए ।

कार्यक्रमको सुरुमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए । राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेश सिलवालले नेपाली खेलकुदका लागि यस्तो कार्यक्रम आवश्यक रहेको बताए। सिलवालले सातै प्रदेशमा प्रशिक्षण सुरु भएको बताए । उनले अब नेपाली खेलकुद प्रतियोगिता पनि आयोजना सुरु हुने बताए । त्यसका लागि दर्शकसहितको प्रतियोगिता, आंशिक दर्शकसहितको प्रतियोगता र दर्शनविहीन प्रतियोगिता विकल्प रहेको बताए ।

कार्यक्रमको अन्त्यमा कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले चाँडै हुने अन्तर्राष्ट्रिय खेल प्रतियोगिताबारे पनि जानकारी दिए । कार्यक्रममा १३औं दक्षिण एसियाली खेलकुदमा नेपालका लागि स्वर्ण पदक दिलाउने १३ संघलाई प्रशंसा पत्र पनि प्रदान गरिएको थियो ।

प्रतिक्रिया