अमेरिकामा यसरी गरिन्छ, जिम्मेवारी हस्तान्तरण

विश्वको शक्तिशालि राष्ट्र अमेरिकामा केही समय पहिला राष्ट्रपतीय निर्वाचान सम्पन्न भएको छ । निर्वाचनको परिणाम आइसके पनि निर्वाचित राष्ट्रपतिले कार्यभार सम्भाल्न अझै केही दिन कुर्नुपर्नेछ । यसै बीचमा आममान्छेमा चासो छ, अमेरिकामा निर्वाचित राष्ट्रपतिलाई पदभार हस्तान्तरण कसरी गरिएला ?  अमेरिकामा पदासीन राष्ट्रपति डोनल्ड ट्रम्पले भर्खर सम्पन्न निर्वाचनमा जो बाइडनसँग आफू पराजित भएको अझै स्वीकारेका छैनन् । उनको पक्षले निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै मतपरिणामालाई कानुनी चुनौती दिएको छ । तर, ट्रम्पले सत्ता हस्तान्तरणको औपचारिक प्रक्रिया सुरु गर्नुपर्ने कुरा स्वीकार गरेका छन् ।

नेतृत्व हस्तान्तरणमा के–के हुन्छ र यो किन महत्वपूर्ण छ ? यति बेला विश्वको ध्यान अमेरिकातिर छ । यो एउटा प्रशासनबाट अर्कोलाई महत्वपूर्ण सूचना र कर्तव्यहरूको हस्तान्तरण हो । जसले गर्दा राष्ट्रपति निर्वाचित र उनको समूह ह्वाइट हाउसमा पुगेपछि त्यसलाई गति दिन सक्छन् । सरकारी निकाय जेनरल सर्भिसेस एड्मिनिस्ट्रेसन (जिएसए) ले आउँदो प्रशासनलाई सहयोग गर्छ । उसले कोष उपलब्ध गराउँछ र कार्यालय, प्रविधि र उपकरणजस्ता कुराहरू सहयोग गर्छ । हस्तान्तरण झन्डै ११ हप्तामा पूरा हुन्छ । त्यो सामान्यतया कसले जित्यो भन्ने कुरा स्पष्ट भएपछि सुरु भएर जनवरी २० मा नयाँ राष्ट्रपतिले औपचारिक रूपमा सत्तारोह गर्दासम्म सकिन्छ ।

सेन्टर फर प्रेजिडेन्सल ट्रान्जिसनका अनुसार त्यो केवल एउटा पदको हस्तान्तरण मात्र होइन । नयाँ राष्ट्रपतिले चार हजार राजनीतिक पदहरू पूर्ति गर्नुपर्छ । तीन वटा मुख्य काम हुन्छन्, कर्मचारी निर्धारण, विषयगत जानकारी प्रदान र राष्ट्रपति निर्वाचितको व्यस्त तालिकाको निर्धारण । औपचारिक रूपमा हस्तान्तरण सुरु भएपछि त्यो राष्ट्रपति निर्वाचितको समूहद्वारा त्यो प्रक्रिया अघि बढ्छ जसको पूरै चुनावी अभियानभरि तयारी गरिरहेको हुन्छ । अर्को महत्तवपूर्ण विषय दैनिक सुरक्षा जानकारी हो ।

चुनावअघि सबै प्रमुख राष्ट्रपतीय उम्मेदवारले राष्ट्रिय सुरक्षाका केही सूचनाहरू पाउँछन् । तर, राष्ट्रपति पदमा निर्वाचित उम्मेदवारलाई दिन थालिएपछि जस्तो त्यो नियमित र विस्तृत हुँदैन । बाइडनले अब दैनिक जानकारी पाउनेछन् । त्यसमा भविष्यमा आउनसक्ने जुनसुकै विषयमा नयाँ प्रशासनलाई तयार राख्ने सुनिश्चितताको निम्ति निश्चित गुप्तचर सूचनाहरू पनि पर्छन् ।

फ्लोरिडाको मतदानमा भएको विवादका कारण बिल क्लिन्टनबाट जर्ज डब्ल्यु बुशलाई नेतृत्व हस्तान्तरण ढिलो भएको थियो । सन् २००१ को सेप्टेम्बर ११ मा भएका आक्रमणबारे छानबिन गर्न गठितसम्बन्धी आयोगले सन् २००० को चुनावपछि सत्ता हस्तान्तरण ढिलो हुँदा त्यसले उक्त घटना रोक्न नसकिएको सम्भावना औँल्याएको थियो ।

कर्मचारीको निर्धारण र नीति परिवर्तनमा सहयोगको निम्ति सामान्यतया बैठकहरू सरकारी निकायका बहालवाला सदस्यहरूसँगै आयोजना गरिन्छ । प्रमुख सदस्यहरूले आफ्नो नयाँ भूमिकाको तयारीका निम्ति बहिर्गमन हुन लागेका कर्मचारीका कामहरूलाई पछ्याउने गर्छन् ।

पदभार ग्रहण नगरे पनि बाइडनले प्रमुख सदस्यहरू नियुक्त गर्न थालिसकेका छन् । हस्तान्तरण प्रक्रियाले प्रत्येक सरकारी निकायका प्रमुखलाई उनीहरूले गर्नुपर्ने आवश्यक भूमिका पहिल्याउन सहयोग गर्छ । राजनीतिक नियुक्ति हुने चार हजार पदमध्ये १ हजार २ सयमा सिनेटको अनुमोदन आवश्यक हुन्छ । हस्तान्तरण प्रक्रियाका क्रममा उनीहरूको पृष्ठभूमि जाँचमा सरकारले सघाउँछ ।

यो वर्ष कोरोना भाइरस महामारी पनि छ र बाइडनले स्वास्थ्य निकायका उच्च अधिकारीसँग सम्पर्क गर्न र जनस्वास्थ्य सूचनामा पूर्ण पहुँच चाहेको बताएका छन् । सरकारी अधिकारीहरूसँगको छलफलका साथै हस्तान्तरण समूहले सामान्यतया राष्ट्रपति– निर्वाचित र विदेशी नेताहरूबीच संवादको आयोजना गर्न विदेश मन्त्रालयसँग समन्वय गर्छ ।
अहिलेसम्म बाइडनको समूहले अनौपचारिक संयन्त्रमार्फत् सम्पर्क गरेको छ । अब भने सरकारी इमेल र सुरक्षित संयन्त्रमा पहुँच हुनेछ ।

राष्ट्रपति–निर्वाचित उम्मेदवारको दम्पतीलाई ह्वाइट हाउसको भ्रमण गराएर त्यहाँको आन्तरिक साजसज्जाबारे उनीहरूको रुचिबारे सोध्ने गरिन्छ । तर, त्यो कानुनी प्रावधानभन्दा पनि परम्परा हो । उनीहरूलाई त्यहाँ रहँदा आफ्नो रुचिअनुसारको साजसज्जा होस् भनेर गरिने परम्परा हो यो ।

यो सामान्यतया जिएसएले नयाँ राष्ट्रपति को हो भन्ने कुरा उल्लेख गर्दै पत्र लेखेपछि सुरु हुन्छ । तर, यो वर्ष उसले बाइडनले चुनाव जितेको पत्र जारी गर्न करिब चुनाव भएको तीन हप्तापछि नोभेम्बर २३ सम्म अस्वीकार गरेको थियो । जिएसएले बाइडनको समूहको निम्ति कोष र अन्य स्रोतहरू उपलब्ध गराएको छ ।

हस्तान्तरण कहिले सुरु हुनुपर्छ भन्ने कानुनी प्रावधान अस्पष्ट छ । त्यसले गर्दा पनि चुनावी परिणाममा विवाद झिकेको ट्रम्प प्रशासनलाई ढिलो गर्न छुट मिलेको हो । अमेरिकी कानुनअनुसार जिएसएले स्पष्ट विजेता भएपछि हस्तान्तरण थाल्नुपर्छ तर त्यसको मिति निश्चित छैन ।

सन् २००० मा पनि हस्तान्तरण सामान्य अवधिभन्दा ढिलो भएको थियो । मतपरिणाम विरुद्ध अदालतमा मुद्दा परेकाले त्यसो भएको थियो । तर त्यसबेला यस पटकभन्दा निकै झिनो मतान्तर थियो । जिएसएले औपचारिक रूपमा परिणाम घोषणा हुनु निकै पहिल्यै सन् २०१६ को चुनावको भोलिपल्टै ट्रम्पलाई विजेताको मान्यता दिएको थियो । त्यसको भोलिपल्टै ट्रम्पले ह्वाइट हाउसमा राष्ट्रपति ओबामासँग भेट गरेका थिए । तर, यो पटक त्यसो भएको छैन ।

यसै गरी सत्ता हस्तान्तरणका क्रममा हुने खर्च सरकारी रकम र निजी कोषबाट बेहोर्ने गरिन्छ । जिएसएले राष्ट्रपति–निर्वाचितलाई मान्यता दिएपछि संघीय कोषबाट करिब ७० लाख डलर निकासा हुन्छ । यो समान्यतया राष्ट्रपति–निर्वाचितले संकलन गरेको कोषबाट परिपूर्ति गरिन्छ । बाइडनले आफ्नो हस्तान्तरण प्रक्रियाको निम्ति नोभेम्बरको सुरुमा ७० लाख डलर संकलन र आफ्ना समर्थकहरूबाट थप कोष जुटाउन अपिल गरेको द न्युयोर्क टाइम्सले उल्लेख गरेको छ । (बिबिसी)

प्रतिक्रिया