जुम्लाको सामुदायिक वनमा आगलागी

खलङ्गा । जुम्लाको चन्दननाथ नगरपालिका– ४ स्थित सिद्धिविनायक सामुदायिक वनमा आगलागी हुँदा सो वनको डेढ हेक्टर वनक्षेत्रमा क्षति भएको छ । सो वनको डेढ हेक्टर क्षेत्रमा मङ्गलबार आगलागी हुँदा करीब एक हजार ५०० देखि दुई हजारसम्मका साना बिरुवा तथा ठूला रुखलाई असर परेको छ ।

साना बिरुवा जलेर नष्ट भए पनि ठूला रुखलाई सामान्य असर पारेको स्थानीयवासीले बताएका छन् । स्याउला र सोतर लिन वनमा गएका महिलाको लापरवाहीले आगलागी भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख माधव काफ्लेले बताए ।

नेपाल प्रहरी, नेपाली सेना, स्थानीयवासी तथा वन कार्यालयका कर्मचारीको सहभागितामा मङ्गलबार आगलागी नियन्त्रण भएको सिद्धिविनायक सामुदायिक वनका सचिव देवीप्रसाद सिंखाडाले बताए । वनमा आगलागी हुँदा साना तथा ठूला सयौँ रुखबिरुवा जलेर नष्ट भएको छ ।

उनले भने, ‘समयमै पुगेका नेपाली सैनिक, प्रहरी तथा स्थानीय बासिन्दाको सहयोगका कारण ठूलो क्षति हुनबाट जोगिएको छ ।’ जिल्ला वन कार्यालय जुम्लाका सहायक वन अधिकृत भावना शाहीले आगलागी हुँदा देवदियार तथा सल्लाका सयौँ साना बिरुवा जलेर नष्ट भएको र अब चाँडै त्यहाँ वृक्षरोपण गरिने बताइन् । वनमा जाँदा सावधानी नपआनाएकै कारण वन क्षेत्र आगलागीको चपेटामा परिरहेकाले सबैलाई सचेत रहन वन कार्यालय जुम्लाले आग्रह गरेको छ ।

प्रतिक्रिया