१५ मिनेटमा हालन्डको ह्याट्रिक

पेरिस । शनिबार मात्रै गोल्डेन ब्वायको अवार्ड जितेका नर्वेजियन युवा फरवार्ड एर्लिङ ब्राउट हालान्डको चार गोल सहयोगमा बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेसलिगामा हर्था बर्लिनमाथि सानदार जित निकालेको छ । डर्टमुन्डले घरेलु टोलीमाथि ५–२ को फराकिलो जित हात पारेको हो । डर्टमुन्डको फराकिलो जितमा अर्काे एक गोल राफायल गुरेइरोले गरे । हर्थाका लागि दुवै गोल म्याथुयस कुन्हाले गरेपनि हार टार्न सकेन । बर्लिनमा शनिबार राति भएको खेलमा घरेलु टोली हर्थाले खेलको ३३औं मिनेटमा कुन्हाको गोलबाट अग्रता लिएको थियो । उनले डोडी लुकेबाकियोको पासलाई सदुपयोग गरेका थिए । पहिलो हाफमा १–० ले पछि परेको डर्टमुन्डले दोस्रो हाफमा हालान्डले उच्च प्रदर्शन गरेपछि जित निकाल्न सफल भयो ।

४७औं मिनेटमा इम्री क्यानको पासमा हालान्डले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसको दुई मिनेटपछि नै हालान्डले गोल गर्दै डर्टमुन्डलाई खेलमा २–१ को अग्रता दिलाए । यसपटका उनले जुलियन ब्रान्डको पासमा गोल गरेका थिए । ६२औं मिनेटमा हालान्डले ह्याट्रिक पुरा गरेपछि डर्टमुन्ड सहज जिततर्फ अघि बढ्यो । डर्टमुन्ड यतिमै रोकिएन । ७०औं मिनेटमा राफायल गुरेइरोले गोल गर्दै डर्टमुन्डलाई ४–१ ले अघि बढाए । ७९औं मिनेटमा म्याथुयस कुन्हाले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गरेपछि खेल ४–२ को अवस्थामा पुगेको थियो । म्यानुयल एकान्जीले पेनाल्टी बक्समा फल गरेपछि हर्थाले पेनाल्टीको मौका पाएको थियो । जसलाई कुन्हाले गल्ती गरेनन् ।

लगत्तै हालान्डले जुडे बेलिङघमको पासमा व्यक्तिगत चौथो गोल गर्दै डर्टमुन्डलाई सानदार जित दिलाए । यसै खेलमार्फत विश्वले प्रतिक्षा गरेको युवा फरवार्ड यौस्सोफा मौकोकोले बोरुसिया डर्टमुन्डको सिनियर टोलीबाट डेब्यु गरे । भर्खरै १६ वर्ष लागेका जर्मन फरवार्ड मौकोको ८५औं मिनेटमा हालान्को स्थानमा मैदान प्रवेश गरेका थिए । १२ वर्षको उमेरमा नै डर्टमुन्डको यु–१७ टोलीबाट खेलेका मौकोकोले १४ वर्षको उमेरमा नै यु–१९ टोलीको अक्र्ममन सम्हालेका थिए । डर्टमुन्डको युवा समूहको प्रतिनिधित्व गर्दै ८४ खेलमा १ सय २७ गोल गरेपछि उनको यो प्रतिभाले नै जनवरीदेखि उनी सिनियर टोलीसँग प्रशिक्षण गर्दै आएका थिए । यो जितसँगै डर्टमुन्ड ८ खेलबाट १८ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । शीर्षस्थानको बायर्न म्युनिखको समान खेलबाटै १९ अंक रहेको छ । पराजित हर्था बर्लिन ७ अंक जोडेर १३औं स्थानमा रहेको छ ।

प्रतिक्रिया