हालान्डले जिते गोल्डेन ब्वाई अवार्ड

वर्लिन । जर्मन क्लब बोरुसिया डर्टमुन्डका नर्वेली फरवार्ड एर्लीङ ब्राउट हालान्डले विश्व फुटबलमा २१ वर्षभन्दा मुनिका उत्कृष्ट खेलाडीलाई प्रदान गरिने गोल्डेन ब्वाई अवार्डको उपाधि जितेका छन् । गत जनवरीमा आरबी साल्जबर्गबाट डर्टमुन्ड आएका २० वर्षीय हालान्डले निरन्तर उच्च प्रदर्शन गर्दै आएका छन् । जारी सिजन पनि उनले ११ खेलमा ११ गोल गरिसकेका छन् । च्याम्पियन्स लिगका ३ खेलमा मात्र हालान्डले ४ गोल गरेका छन् । यस्तै सिनियर राष्ट्रिय टोलीका लागि पनि उनले ७ खेल खेल्दै ६ गोल गरेका छन् ।

इटालियन संचारमाध्यम टुट्टोस्पोर्ट्सले वर्षेनी प्रदान गर्दै आएको अवार्ड विश्व फुटबलमा प्रतिष्ठित अवार्डमा गनिन्छ । यस अवार्डका लागि युरोपका प्रतिष्ठित संचार माध्यमका पत्रकारहरुले मतदान गर्दै आएका छन् । सन् २००३ देखि सुरु भएको यस अवार्ड युरोपमा खेल्ने उत्कृष्ट युवा खेलाडीलाई प्रदान गरिँदै आएको छ ।

यसअघि मनोनयनमा १ सय खेलाडीको नामावली सार्वजनिक गरेर ६० जनाबाट ४० जना र २० जनाको सुची सार्वजनिक गरिएको थियो । यस अवार्ड जित्ने खेलाडी भविष्यमा स्टार खेलाडीका रुपमा अगाडी बढ्ने इतिहासले पनि बताउँछ । १७ वर्षअघि पहिलो पटक नेदरल्याण्डका राफेल भान डर भार्टले यो अवार्ड जितेका थिए ।

त्यसपछि वायन रोनी, लियोेनेल मेस्सी, सेस फाब्रिगास, सर्जियो अगुएरोले पनि यो उपाधि जितेका थिए । पछिल्लो समय पल पोग्बा, रहिम स्टर्लिङ, किलियन एमबाप्पे, म्याथिस डी लिग्ट लगायतले यो उपाधि जितेका छन् । गतवर्ष पोर्चुगिज फरवार्ड जोआओ फेलिक्सले यस अवार्ड जितेका थिए ।

उपाधिको दाबेदारका रुपमा बोरुसिया डर्टमुन्डका एर्लीङ ब्राउट हालान्डसँगै सहकर्मी जेडन सान्चो र बायर्न म्युनिखका अल्फोन्सो डेभिस रहेका थिए । रियल म्याड्रिडका रोड्रीगो र भिनिसियससँगै बार्सिलोनाका अन्सु फाती पनि मनोनयनमा थिए ।

प्रतिक्रिया