यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु

काठमाडौं । सरकारले कोरोना संक्रमणको जोखिम कायमै रहेकाले सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ। लक डाउन खुकुलो जोखिम कम भएर नभइ जीवन र जीविका चलाउन सहज बनाइएको भन्दै सतर्कता अपनाउन सरकारले आग्रह गरेको हो। सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले कोरोना नियन्त्रणमा आउने मिति अनुमान गर्न सकिने अवस्था नरहेको बताए।

उपत्यका लगायत विभिन्‍न जिल्लाहरुमा दिनदिनै संक्रमण बढिरहेको अवस्थामा सरकारले सबैले उच्च सतर्कता अपनाएर सहयोग गर्न उनले आग्रह गरे। ‘कोरोना महामारी रोकिएको छैन। युरोपेली देशहरुमा दोस्रो वेब समेत सामना गर्नुपरेको छ। नेपालमा संक्रमण बढिरहेको छ। कुन विन्दुमा पुगेर ओरालो लाग्छ। नियन्त्रणमा जान्छ भनेर अनुमान गर्न सकिने अवस्था छैन। जोखिम कम भएर होइन’ उनले भने, जीवन र जीविकाको बीचमा सन्तुलन मिलाउनुपर्ने आवश्यकताले केही सेवा क्षेत्र खुकुलो गरिएको हो। यो बेला सबैको उच्चस्तरको सतर्कता अपनाउन जरुरी छ। सबैको साथ र सहयोगको जरुरत रहेको छ।’

यस्तै सरकारले मापदण्ड विपरीत पिसिआर परीक्षणका लागि कसैलाई पनि बाध्य नपार्न आग्रह गरेको छ। घरधनीहरुले परीक्षणका लागि दबाव दिने गरेको गुनासो आएकाले त्यसो नगर्न उनले आग्रह गरे। पिसिआर रिपोर्ट नभई धरधनीले डेरामा बस्नेलाई पस्‍न नदिएको र औद्योगिक प्रतिष्ठानले काम गर्न नदिएको सुन्नमा आएको भन्दै उनले जवरजस्ती पिसिआर परीक्षणका लागि बाध्य नपार्न उनले आग्रह गरेका छन्।

यस्तै सरकारले ग्रामिण उद्यम तथ आर्थिक विकास आयोजनाका लागि विश्‍व बैंकबाट प्राप्त हुने ९ अर्ब ३८ करोड सहुलियत पूर्ण ऋण सहायताका लागि अर्थ मन्त्रालयका सह सचिवको नेतृत्वमा ५ सदस्यीय वार्ता टोली गठन गरेको छ। एसियाली विकास बैंकबाट प्राप्त हुने १८ अर्ब ऋण सहायताका लागि पनि वार्ता गर्न टाली गठन गरिएको छ।

सरकारले नेपालको स्वास्थ्य क्षेत्र कार्यक्रम अन्तरगत बेलायत सरकारबाट सहयोग गर्ने साढे ३ अर्ब बढीको आर्थिक सहयोग लिने निर्णय पनि गरेको छ। नेपालको स्वास्थ्य क्षेत्र कार्यक्रम अन्तरगत तेस्रो फेजका लागि बेलायतले गर्ने ३ अर्ब ५३ करोड बराबरको आर्थिक र प्राविधिक सहयोग स्वीकार गर्ने निर्णय सरकारले गरेको हो। यस्तै विश्‍व वातावरण सुविधा, युएनडिपीबाट प्राप्त हुने सहायता रकम १ अर्ब ७५ करोड पनि स्वीकार गर्ने निर्णय सरकारले गरेको परराष्ट्रमन्त्री सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले बताए।

सरकारले सशस्त्र प्रहरी बलको गोताखोरका लागि उद्धारमा खटिएको दिन प्रतिदिन ३ सयका दरले प्रोत्साहन भत्ता र १० लाख सम्मको विशेष वीमाको व्यवस्था गर्ने निर्णय पनि गरेको छ। कञ्चनपुरको बेदकोटमा भारतसँग देखिएको सीमा विवादका सम्बन्धमा समस्या समाधानका लागि गठन आदेश २०७७ आदेश स्वीकृत गर्ने निर्णय गरेको छ। वास्तविक जग्गा धनीले जग्गा नपाउने र यताको जग्गा उता, उताको जग्गा यता हुने भएकाले समस्या समाधान गर्नुपर्ने आवश्यकता देखिएको उनले बताए।

सातवटै प्रदेशमा कृषिका लागि विशेष केन्द्रहरु स्थापना गर्न इजरायल सरकारसँग सम्झौता गर्न राजदूत अञ्जन शाक्यलाई अख्तियारी दिने निर्णय पनि सरकारले गरेको छ। उस्तै नेपाल कृषि अनुसन्धान परिषदको कार्यकारी निर्देशक डा दीपक कुमारी भण्डारी नियुक्त गर्ने निर्णय पनि भएको उनले बताए। यसैगरी नेपाल बाल संगठन नक्सालको परिसरमा रहेको आदर्श आधारभूत विद्यालय र केन्द्रिय बहिरा उच्च विद्यालयलाई अन्य स्थापना स्थानान्तरण गर्दै बालबालिकाको आवास लगायतका काम गर्ने निर्णय पनि गरेको छ।

उपयुक्त आवास भवन मर्मत सम्भार र नयाँ संरचना निर्माण गरी सुरक्षित आवासको व्यवस्था मिलाउन अर्थमन्त्रालय तत्काल १ करोड ५० लाख अनुदान दिने व्यवस्था मिलाउने निर्णय पनि भएको प्रवक्ता ज्ञवालीले बताए। बाल संगठनको स्वामित्वमा रहेको जग्गाको विकास र अन्य विकासको गुरुयोजनाका लागि बाल संगठनले काम गर्ने निर्णय पनि भएको उनले बताए।

प्रतिक्रिया