मापदण्ड विपरीतका क्रसर उधोग तत्काल बन्द गर्न निर्देशन

सर्लाही । ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धि मापदण्ड २०७७ विपरीत सर्लाहीमा सञ्चालन हुँदै आएका क्रसर उद्योगहरु तत्काल बन्द गर्न निर्देशन दिइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (वातावरण तथा विपद व्यवस्थापन शाखा) ले जारी गरेको ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धि मापदण्ड २०७७ विपरीत सञ्चालन भएका क्रसर उधोगहरु बन्द गर्न निर्देशन दिइएको जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख तथा अनुगमन समितिका संयोजक मेथुर चौधरीले बताए ।

मन्त्रालयले जारी गरेको ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धि मापदण्ड २०७७ अनुसार घना बस्ती र वन क्षेत्रको दुई किलोमीटर, राजमार्गको पाँचसय मिटर दुरी भित्रको नदि, सडक र पुल तथा झोलुङ्गे पुलको एक किलोमिटर तल र पाँचसय मिटर माथि, खोला वा नदी किनारबाट पाँचसय मिटर, शिक्षण संस्था, स्वास्थ्य संस्था, धार्मिक, सांस्कृतिक, पुरातात्त्विक महत्त्वका स्थान तथा सुरक्षा निकायबाट दुई किलोमीटर, अन्तर्राष्ट्रिय सिमाबाट दुई किलोमीटर, हाइटेन्सन लाइनबाट दुईसय मिटर, ऐतिहासिक ताल, तलैया, जलाशय र पोखरीबाट पाँचसय मिटर र चुरे पहाडको फेदीबाट पन्ध्रसय मिटरको दुरी भित्रको नदीजन्य पदार्थ उत्खनन र संकलन गर्न नपाइने उल्लेख रहेको छ ।

मापदण्ड विपरीत तथा नवीकरण नभएका सर्लाहीमा संचालनमा रहेको आठवटा क्रसर उधोगका संचालकहरुलाई सोमबार देखि बन्द गर्न कडा निर्देशन दिइएको सर्लाही प्रहरी प्रमुख एसपी सन्तोष सिंह राठौरले जनाएका छन् । क्रसर उधोग माथी विशेष निगरानी बढाइएको र क्रसर उधोगको अनुगमन गर्दा मापदण्ड विपरीत खोला, वनजंगल, बस्ती र बिधालय नजिक समेत संचालनमा रहेको र ढुङ्गा, गिट्टी, बालुवा लगायतका नदीजन्य पदार्थको अनियंत्रित दोहन रोक्नका लागि यो कडा कदम चालिएको एसपी राठौरले बताए ।

यस विषयमा प्रतिक्रियाका लागि प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई प्रत्यक्ष फोन सम्पर्क गर्दा उनले भने, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (वातावरण तथा विपद व्यवस्थापन शाखा) ले जारी गरेको ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धि मापदण्ड २०७७ विपरीत सर्लाहीमा सञ्चालन हुँदै आएका क्रसर उद्योगहरुको कागजात मगाएर बैधानिकता बारे बुझ्ने उनले बताए ।

घरेलु तथा साना उधोग कार्यालय सर्लाहीका प्रमुख जितेन्द्र किशोर गुप्ताका अनुसार, सर्लाहीमा दर्ता भएका क्रसर उधोगको जम्मा संख्या सोह्रवटा भएपनी संचालनमा आठवटा मात्र रहेको उनले बताए । यसरी मापदण्ड विपरीत संचालनमा रहेका क्रसर उधोगले जथाभावी नदीबाट ढुङ्गा, गिट्टी, बालुवा उत्खन्न गर्दा चुरेको अस्तितव संकटमा पर्न थालेको विज्ञहरूले जनाएका छन् । जिल्लामा रहेका प्रायः क्रसर उधोग राजनीतिक व्यक्ति तथा पहुचवाला व्यक्तिको नाममा संचालन भइरहेको छ ।

प्रतिक्रिया