भरतपुर अस्पतालमा कोरोना संक्रमितका बिरामी घटे

चितवन । कोरोना संक्रमण सुरुवाती चरणमा सबै संक्रमितको उपचार गरेको भरतपुर अस्पतालमा पछिल्लो समय सङ्क्रमित बिरामी घट्दै गएको छ । अन्य रोगका बिरामी भने बढ्न थालेका छन् ।

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार आज अस्पतालमा १७ जना मात्रै कोरोना संक्रमित बिरामी छन् । यो सङ्ख्या ८३ जनासम्म पुगेको थियो । संक्रमितहरु स्थानीय तहका आइसोलेसन, निजी मेडिकल कलेज तथा घरमा बस्न थालेपछि सरकारी अस्पतालमा यो सङ्ख्या घटेको हो ।

पौडेलका अनुसार अस्पतालले हालसम्म ३३७ जना संक्रमितको उपचार गरिसकेको छ । यसमध्ये १३ जनाको मृत्यु भएको थियो । मृत्यु भएकामध्ये १० जना चितवनकै र अन्य कैलाली, गोरखा र मकवानपुरका रहेका छन् ।

संक्रमितको सङ्ख्या घटेसँगै अस्पतालले संक्रमित राख्न प्रयोग गरेको २३ वटा क्याबिन निर्मलीकरण गरेर अन्य रोगका बिरामी राख्न सुरु गरेको छ । पौडेलका अनुसार पछिल्ला दिनमा बहिरङ्ग सेवाका बिरामी बढेर गएका छन् । आइतबार मात्रै ४७३ जनाले बहिरङ्गबाट र १०३ जनाले आकस्मिकबाट सेवा लिएका थिए ।

यसअघि गएको शुक्रबार बहिरङ्ग सेवामा २४१ र आकस्मिकमा ९९ जना बिरामी मात्रै आएका थिए । बिहीबार यो सङ्ख्या १५० र ११४ रहेको थियो । अस्पतालले ‘ए’ ब्लकको भुइँतलामा रहेको हाडजोर्नी र सर्जिकल विभागमा संक्रमित राखेको छ । त्यसैगरी पुरानो क्याबिनमा पनि संक्रमित छन् । क्रमशः बिरामी घट्दै जाँदा ती ठाउँमा पनि अन्य बिरामी राखिने अस्पतालले जनाएको छ ।

अस्पतालको आन्तरिक विभागका श्ययाहरुमा पनि बिरामी भरिन थालेका छन् । अस्पतालका वरिष्ठ कन्सल्टेन्ट स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. रामप्रसाद सापकोटाका अनुसार क्याबिनहरु सुरु भएपछि प्रसूति गराउन आउनेहरु लाभान्वित भएका छन् ।

जिल्ला र बाहिरका बिरामीहरुले प्रसूतिका लागि भरतपुर अस्पताल रोज्न गर्दछन् । सबै क्याबिन कोभिडका बिरामीका लागि प्रयोग भएपछि प्रसूति गराउन आउनेहरुले समस्या भोगेका थिए । उनले भने, ‘अब यहाँ प्रसूति गराउन आउनेहरुको सङ्ख्या अरू बढ्छ ।’ अहिले दैनिक ४० जनाको हाराहारीले प्रसूति सेवा लिने गरेका छन् ।

स्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत गीताञ्जलि ढकालका अनुसार हाल जिल्लामा रहेका संक्रमितमध्ये अस्पताल र स्थानीय तहका आइसोलेसनहरुमा ३२३ जना छन् । होम आइसोलेसनमा यो सङ्ख्या ६५८ रहेको छ । घरमा बस्दा छिटो निको भएको अनुभव संक्रमितहरुले गरेको उनको भनाइ छ ।

उनले भने, ‘घरको वातावरण आफू अनुकूल हुने भएकाले सम्भव भएकाहरु घरमा बस्ने क्रम बढेको छ ।’ लक्षण देखिएकाहरु मात्रै अस्पताल आउन थालेका छन् । पछिल्ला दिनहरुमा सङ्क्रमितहरुलाई मनोवैज्ञानिक त्रास घटेको छ भने सामाजिक विभेद पनि कम हुँदै गएको छ । – रासस

प्रतिक्रिया