लिल फ्रेन्च लिग वानको शीर्षस्थानमा

पेरिस । लिल फ्रेन्च लिग वानको शीर्षस्थानमा उक्लिएको छ । शुक्रबार राति भएको खेलमा नान्टेसलाई २–० ले पराजित गर्दै अपराजित रहेको लिल शीर्षस्थानमा उक्लिएको हो । घरेलु मैदानमा लिलको जितमा बुराक इल्माजले गोल गर्दै एक गोल उपहार पाएको थियो । प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले पहिलो हाफमा उल्लेख्य पोस्ट आक्रमण बुन्न सकेको थिएन ।

४२औं मिनेटमा निकोलस पालोओइसले आत्मघाती गोल गरेपछि लिलले पहिलो हाफमा १–० को अग्रता लिएको थियो । लिलका खेलाडीको प्रहारलाई नान्टेसका गोलरक्षक अल्वन लाफन्टले बचाएपनि डिफ्लेक्ट भएर आएको बल निकोलसलाई लाग्दै गोलमा परिणत भएको थियो ।

दोस्रो हाफमा घरेलु टोलीले नान्टेसलाई दवावमा राख्दै थप एक गोल गर्न सफल भयो । ८६औं मिनेटमा बुराक इल्माजले गोल गर्दै लिललाई २–० को जित दिलाए । अपराजित रहेको लिलको ५ खेलबाट ११ अंक पुगेको छ । लिलले ५ मध्ये ३ खेलमा जित र दुई बराबरी खेलेको छ ।
एक खेल कम खेलेको सेन्ट इटिएन र रेनिसको समान १० अंक छ । यस्तै मोन्टेपिलिएर लेन्सको ९ अंक छ ।

पराजित नान्टेस ५ खेलबाट ५ अंक जोडेर १४औं स्थानमा छ । नान्टेसले १ खेलमा जित निकाल्दा समान दुई बराबरी र हारको नतिजा निकालेको छ । लिगको साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सुरुवाती दुई खेल गुमाएको थियो । त्यसपछि भने टोलीले लगातार दुई जित हासिल गरेको छ । पीएसजीले आइतबार राइम्ससंग खेल्दैछ ।

प्रतिक्रिया