वडाध्यक्षद्वारा सरकारी कार्यालयलाई जग्गादान

सल्यान । जिल्लाको बनगाडका एक वडाध्यक्षले दुई सरकारी कार्यालयका लागि जग्गा हस्तान्तरण गरेका छन् । बनगाड कुपिण्डे नगरपालिका–८ का वडाध्यक्ष कुलबहादुर पुरीले आफूले पाउने पारिश्रमिकबाट वडा कार्यालय र स्वास्थ्य संस्थाका लागि जग्गा खरिद गरी हस्तान्तरण गरेका हुन् ।

वडा कार्यालय तथा स्वास्थ्य संस्थाका लागि आवश्यक जग्गा उपलव्ध हुन नसकेपछि वडाध्यक्ष पुरीले आपूmले बुझेको पारिश्रमिकबाट जग्गा खरिद गरेर हस्तान्तरण गरेको बताए । पुरीले खलंगा सल्लीबजार सडक खण्डमा पर्ने एक रोपनी जग्गा तीन लाख रुपैयाँमा खरिद गरी दुवै कार्यालयका नाममा नामसारी गरिदिएको जानकारी दिए ।

‘मैले हालको वडा कार्यालय रहेको बाबियाचौरमा वडा कार्यालयका लागि जग्गाका लागि पहल गर्दा पनि कतैबाट उपलव्ध हुन नसक्दा कार्यालय सञ्चालन गर्न समस्या हुने भयो । त्यसैले मैले तीन जना व्यक्तिबाट एक रोपनी जग्गा खरिद गरेर कार्यालयको नाममा नामसारी गरेको छु’, वडाध्यक्ष पुरीले भने ।

आफ्नै कार्यकालमा वडा कार्यालय र स्वास्थ्य संस्था निर्माण गर्ने उद्देश्यले यो काम गरिएको उनको भनाइ छ । जग्गा प्राप्त भएपछि अहिले भवन निर्माणको काम सुरु भएको छ । पुरीले स्वास्थ्य संस्थाको भवन निर्माणका लागि शिलान्याससमेत गरेका छन् । ‘राजनीति भनेको समाज सेवा हो । मैले पनि हाम्रो गाउँमा केही नयाँ गरौँ भनेर जग्गा हस्तान्तरण गरेको हुँ’, पुरीले भने ।

लामो समयसम्म वडा कार्यालय भाडामा सञ्चालन गर्दा भोगेका समस्याहरूकै कारणले पनि आफूले जग्गादान गरेर सरकारी भवन निर्माण गर्न लागेको बताए । ‘आप्mनो गाउँठाउँमा विकास आफैंले गर्ने हो त्यसैले पनि मैले आफनो ठाउँको विकास गर्नका लागि जग्गा हस्तान्तरण गरेको छु, मेरै कार्यकालमा हाम्रो वडा कार्यालय आफनै भवनबाट सञ्चालन हुन्छ’, पुरीले भने ।

प्रतिक्रिया