नगरका कोपिला साहित्यिक पत्रिका विमोचन

कावासोती । नगरका कोपिला नामक साहित्यिक पत्रिकाको मंगलबार कावासोतीमा विमोचन गरिएको छ । कावासोती नगरपालिका शिक्षा शाखाद्वारा प्रकाशित पत्रिकाको एक समारोहका बीच विमोचन गरिएको हो । कावासोती नगरपालिकाका नगरप्रमुख एवं कार्यक्रमकी प्रमुख अतिथि चन्द्रकुमारी पुनले पत्रिकाको विमोचन गरेकी हुन् ।

कार्यक्रमलाइ सम्बोधन गर्दै नगर प्रमुख पुनले नगरका कोपिला साहित्यिक पत्रिका बालबालिकाको अन्तरनिहित प्रतिभा प्रष्फुटन गर्न कोसेढुङगा सावित हुने बताइन् । कार्यक्रममा बोल्दै नगर उप(प्रमुख प्रेमशंकर मर्दनियाले पत्रिकाको निरन्तरताको कामना गरे । मर्दनियाले अब छिट्टै नगरभित्रका विद्यालयहरुमा सम्पर्क सिकाइको कार्य अघि बढाउने गरी तयारी गरिरहेको बताए ।

कार्यक्रममा पत्रिका प्रकाशनको महत्त्वमाथी प्रकाश पार्दै कावासोती नगरपालिकाका नगर शिक्षा अधिकारी क्षेत्र बहादुर भण्डारीले विद्यालयमा अध्ययनरत बालबालिकाहरुको बाल सिर्जनालाई प्रोत्साहित गर्ने बताए । यसैबीच कार्यक्रममा सिद्धार्थ आवासीय माविका प्रिन्सिपल भोजराज दाहालले नगरभित्रका सबै सामुदायिक विद्यालयलाई एक एक थान ज्वरो नाप्ने थर्मल गन हस्तान्तरण गरेका छन् ।

दाहालले यसअघि पनि नगरभित्रका सामुदायिक विद्यालयहरुमा अक्षयकोषको समेत स्थापना गरेका थिए । पत्रिका सम्पादक मण्डलका संयोजक एवम् शान्ति निकुञ्ज माध्यामिक विद्यालय पिठौलीका प्रधानाध्यापक हरिप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियोे ।

कार्यक्रममा कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरी, मध्यविन्दु बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख मुक्तिराम पाण्डे लगाएतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने शिक्षा शाखा अधिकृत राजन पाण्डेले स्वागत मन्तव्य दिएका थिए ।

प्रतिक्रिया