१४ जनाको १६ लाख लिई व्यक्ति फरार

सिन्धुली । जिल्लाको दुधौली नगरपालिका–११ मैनीका १४ जना युवा ठगीमा परेका छन् । ०७३ साल साउनमा वैदेशिक रोजगारमा पठाइदिने भन्दै ती युवाहरूबाट १६ लाखभन्दा बढी रकम लिएर अनुपम कार्की फरार भएको जिल्ला प्रहरी कार्यलय सिन्धुलीकी प्रमुख रञ्जु सिग्देलले जानकारी दिइन् ।

उनका अनुसार दुधौली नगरपालिका–११ मैनीका १४ जना युवाहरूलाई दुबईमा रोजगारी लगाइदिने भन्दै प्रत्येक युवाबाट १ लाख ३० हजार रुपैयाँको दरले पैसा लिएर सोही ठाउँका ३० वर्षीय अनुपम कार्की फरार भएका हुन् । फरार रहेका कार्कीको खोजी भइरहेको प्रहरी प्रमुख सिग्देलले बताइन् ।

पीडित युवाहरूले ढिलो जानकारी गराएको पनि सिग्देलले बताइन् । यस्तै पीडित युवाहरू भने स्थानीय भएकाले कार्कीलाई विश्वास गरि पैसा दिएको बताउँछन् । कार्कीले दुई महिनाभित्र आफूहरूलाई दुबई पठाई काम लगाइदिने भनेकाले पैसा दिएको उनीहरूले बताए ।

दुई वर्षसम्म बाहिर पठाउनका लागि प्रक्रिया भइहेको भन्दै झुक्याउने गरेको पीडित युवा उपेन्द्र शाहले बताए । उनले भने, ‘हामीले फोन गर्दा जहिले पनि प्रक्रिया हुँदै छ भन्नुहुन्छ’, उनले भने, ‘स्थानीय भएकाले हामीले पनि उस्को कुरा विश्वास गरियो ।  कार्की सम्पर्कविहीन भएपछि युवाहरू मिलेर कार्कीको घर पैसा फिर्ता माग्न जाँदा उल्टै युवाहरूलाई अभद्र व्यवहार गरेको भनी जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा उजुरी हालेको स्थानीयहरू बताउँछन् ।

प्रतिक्रिया