भर्चुअल बैठकबाट एक हुँदै इलामवासी

इलाम । विश्वभर रहेका इलामवासीलाई एकजुट बनाउन शनिबार भर्चुअल बैठक गरिने भएको छ । एकापसमा भाइचारा कायम गर्नेलगायतका उदेश्य राखेर बैठक गरिन लागिएको हो । जिल्ला समन्वय समितिको संयोजनमा भर्चुअल माध्यमबाट शनिबार साँझ साढे ५ः०० बजे हुने विश्व इलामे भेलाको तयारीलाई तिव्रता दिइएको छ ।

सम्मेलनलाई भव्यताका साथ सम्पन्न गर्न इलाम विकास समाज, काठमाडौं, इलामेली समाज प्रदेश नम्बर १ र इलामसँग सम्बद्ध विश्वभरका संघसंस्था सक्रियरुपमा लागेका भेलाका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालले जानकारी दिए ।

कोभिड–१९ का कारण इलाम र इलामबाहिर रहेका इलामवासीमा भएका समस्यालाई सहयोग आदानप्रदान गर्ने तथा ज्ञान, सीप र क्षमता अभिवृद्धि गरी स्रोतको परिचालन गर्दै समुन्नत र समृद्ध इलामको निर्माण गर्ने उदेश्य राखेर भेलाको आयोजना गर्न लागिएको इलाम विकास समाजका अध्यक्ष राधेश्याम लेकालीले बताए ।

भेलाका क्रममा विश्वभरका इलामवासी संघसंस्था तथा इलामेलवासीको तथ्यांक संकलन गरी व्यवस्थित गरिने पनि जनाइएको छ । भेलामा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ र पूर्वमन्त्री केवी गुरुङलगायत प्रतिनिधि, इलामका सबै स्थानीय तहका प्रमुख, विश्वभर रहेका इलामेली समाज र विभिन्न क्षेत्रका प्रतिनिधिको उपस्थिति हुने लेकालीले जानकारी दिए ।

प्रतिक्रिया