‘भिडियो एक्स–रे’सहित प्रसूति सेवा सुरु

दोलखा । जिल्लाको तामाकोसी गाउँपालिकाले  भिडियो एक्स–रे (अल्ट्रासाउन्ड) सहितको प्रसूति सेवा सुरु गरेको छ । गाउँपालिकाले आफ्नै स्रोतसाधनमा वडा–३ को जफे र वडा–५ को सहरेमा यो सेवा सुरु गरेको हो । पालिकाले तालिमप्राप्त जनशक्तिको परिचालन गरी गर्भवती महिलाहरूको निःशुल्क भिडियो एक्स–रेका साथै आवश्यक ल्याब जाँच गरी बच्चा तथा आमाको अवस्था जाँच गर्ने सुविधाको सुरुआत गरेको तामाकोसी गाउँपालिकाका स्वास्थ्य संयोजक अरुण कुमार मिश्रले जानकारी दिए ।

यो सुविधा उपलब्ध हुने भएपछि गर्भवती महिलाहरूले महँगो खर्चमा भिडियो एक्स–रेका लागि चरिकोट र काठमाडौं जानुपर्ने अवस्थाको अन्त्य भएको संयोजक मिश्रले जनाए । हाललाई यो सेवा जफे स्वास्थचौकी र सहरे स्वास्थचौकीमा उपलब्ध हुने भएकाले पालिकाका सम्पूर्ण गर्भवती महिलाहरूलाइ निःशुल्क सेवा पालिकाबाट नै लिनसमेत गाउँपालिकाले सम्बन्धित सबैलाई अनुरोध गरेको छ । यो सेवा बाँकी वडामासमेत बिस्तार गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया