कविता ‘भोकको अदालतमा सिल्टे थालको बकपत्र’

डा. बालाकृष्ण अधिकारी

श्रीमान् !
म सिल्टे थाल
सम्मानित भोक अदालतको यस कठघरामा उभिएर
सत्तासीन काँसे थालले मात्र खान पाउने व्यवस्थाका विरुद्ध
यो बकपत्र फिराद गर्दै छु
यसमा रहेको बेहोरा
मेरा जीवनको वास्तविक भोगाइ हो
अन्यथा भए सहुँला बुझाउँला !
मेरा यौवनभरिको सपना थियो–
म यस्तो घरमा पुग्नेछु
जहाँ दुई छाक राम्रोसँग खान पाउने
सफा भएर बस्न पाउने
मेरो जन्मसिद्ध अधिकारको प्रत्याभूति हुनेछ
मलाई किन्ने बेलामा
मध्यम वर्गीयजस्तै देखिने एउटा केटोले
मछेउ आएर मलाई मायाले सुम्सुम्याएथ्यो
उसको त्यस मधुर स्पर्श
अझै झङ्कृत भइरहेको छ मेरा रोमरोममा
उसको पहिलो स्पर्शले नै जसरी मोहित भएँ म
त्यसरी नै मोहित भएको थियो ऊ पनि
र त कुनै मोलमोलाइ नगरी
साहुजीले मागेको मूल्य तिरेको थियो उसले
खोकिलामा च्यापिएर म
उसको घर चम्काउन पुगेको थिएँ ।
केही दिन मलाई उसले
मिठामिठा परिकार खुवाएको थियो
बिहान, दिउसो, बेलुका खुब माया गरेको थियो
उसको सन्तुष्टि देखेर
म भरिपूर्ण हुन्थेँ
भित्रभित्रै खुसीमा आँसुले गह भरिन्थे
फुरङ्ग देखिन्थ्यो ऊ
मानौँ फिस्टोले कौडो पाएको होस्
घरिघरि मैलाई दर्पण बनाएर
हेरिरहन्थ्यो उसले आफ्नो धमिलो छविचित्र
मैलाई हेरेर घन्टौँ
सुनाइरहन्थ्यो जीवनका सपनाहरूको महाकाव्य ।
श्रीमान् !
हिजोआज ऊ निकै फेरिएको छ
उसले मलाई मुस्किलले एकछाक खुवाउँछ
सफा नै नगरी
चौबिस घन्टाजति जुठेल्नामा मिल्काउँछ
उसको अनुहारमा हेर्दा
कुनै युद्ध हारेको सिपाहीको झल्को आउँछ
सधैँ भिजेका देखिन्छन् उसका परेली
चमक हराएको मणिजस्ता छन् उसका आँखा
बाघले समातेको मृगको जस्तै
भयभीत देखिन्छ उसको अनुहार
खै, किन हो !
सारङ्गीजस्तै बनिरहेको छ उसको पेट
एउटै आसनमा घन्टौँ बस्छ
जब दिउसोको २-३ बज्छ
आशाका दृष्टिले मतिर पलुक्क हेर्छ
जब रातको ७÷८ बज्छ
सिरानी जोडसँग च्यापेर
दलिनतिर हेर्दै घुटुक्क थुक निल्छ ।
बितेको चार महिनामा
ऊ जम्मा पाँच चोटि तरङ्गित भएको देखेको छु ।
पहिलोपल्ट उसको अनुहार आशाले तरङ्गित थियो
जब एउटा बोरामा उसले ल्याएथ्यो सरकारी राहत–
चार किलो चामल, आधा लिटर तेल
एक किलो चिउरा, एक पोका नुन
फर्याकफुरुक गर्दै दुईचार दिन
ऊ मसँग खुब जिस्किरहेथ्यो ।
दोस्रो पटक ऊ घृणाले तरङ्गित थियो
जब उसले ‘७२ करोड काण्ड’ रेडियोमा सुनेथ्यो
त्यतिबेला तीन दिनसम्म उसले
मलाई जुठेल्नाबाट उठाउँदै उठाएनथ्यो ।
तेस्रो पटक ऊ उत्साहले तरङ्गित थियो
जब उसले देखेथ्यो सामाजिक सञ्जालमा
आमाजत्तिकै प्रिय देश नेपालको चुच्चे नक्सा
सारङ्गी परेको पेटमा सिरकको गुजुल्टो कोचेर
उठाएको थियो स्वाभिमानको गर्विलो शिर ।
चौथोपल्ट ऊ निराशाले तरङ्गित थियो
जब उसले देखेथ्यो सडकमा
‘इनफ इज इनफ’ लेखिएका प्लेकार्ड बोकेका युवाहरू
एमसिसीको विरोधमा उत्रिएका सचेत नागरिकहरू
कोठाभित्रै बसेर जङ्गिँदै
ठड्याएको थियो उसले विद्रोहको मुट्ठी ।
र, पाँचौँपल्ट ऊ विष्मयले तरङ्गित थियो
जब उसले सुनेथ्यो
‘कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ भनेजस्तै
मुलुकका कार्यकारीको भाषण
भाषण सुनेकै दिनदेखि
रोग, भोक र शोकले थलिएको परिवेश
अझै विकराल हुने डरले
अघोषित अनसनमा बसिरहेको छ ऊ ।
श्रीमान् !
संविधानले दिएको अधिकार भोग्न नपाउने
विषम परिस्थितिको कारक को हो ?
एउटा नागरिक भएर बस्न नपाउने
अन्यायपूर्ण व्यवस्थाको कारक को हो ?
सारङ्गी परेको पेटमाथि
भ्रष्टाचारको बुटले कुल्चने को हो ?
हामी सिल्टे थाल भोकले मर्दा
काँसे थालले चौरासी व्यञ्जन खान पाउने
असमान न्यायप्रणालीको कारक को हो ?
कानुनी न्याय मरेको देशमा
सामाजिक न्याय पनि मर्ने त होइन श्रीमान् !
मान्छेले मान्छेमाथि गरेको विभेदको संस्कृति
हामी थालका बिचमा पनि होला भन्ने कल्पनै थिएन
म अन्यायमा परेको छु श्रीमान् !
काँसे थालले पेटभरि खाँदा
हामी सिल्टेका थाल भोकै बस्नु अन्याय होइन र !
मेरो साथी जो मजदुरी गर्छ
ऊ यति दीनहीन भइसकेको छ
कि ऊ अब आफ्नै लागि पनि लड्न सक्ने अवस्थामा छैन ।
भोकको यस सर्वोच्च अदालतमा
न्यायको तराजुमा झुन्डिएर
म र मजस्तै सिल्टे थालले
सामाजिक न्यायलाई धिक्कार्दै
आत्महत्या गर्न नपरोस्
बिन्ती श्रीमान् !
तपाईँको यस अदालतले
साँच्चै न्याय र अन्याय छुट्याउँछ भने
बरु मलाई आजन्म कैदमा राख्नुहोस्
सिल्टे थालहरूलाई न्याय दिनुहोस् !

प्रतिक्रिया