कविता ‘सत्ता’

                  तेजविलास अधिकारी

दमन उत्पीडन
म बुझ्दिन
चिल्लो बाटोको सवारी
मेरो प्रिय वस्तु
झुप्रो जलोस्
त्यसलाई
भनौँ गोठ वा घर
मलाई मतलव छैन
विचरा ! विषयविज्ञ
चाकरी गर्न आउनु पर्यो नि !
चिन्दछु मेरो छेउ
आउने मात्र ।
मजदुर अलपत्र परुन्
सुत्केरी उपचार नपाएर मरुन्
जे–जे होस्
पुग्छ मेरा निकट भए मलाई
राजनीति त भर्याङ् पो हो
टेकेर शालीन विचारको काँधमा
पुग्ने हो ठाउँमा
देखेकै छौ नि
स्थायी सरकार
घामजस्तै छर्लङ्ग
अनि किन गाली गर्नु
आखिर बाली एउटाको
चर्ने अर्कै त हो नि !
बेकारमा मसँग
गर्छौ सुशासनको आशा
आफ्नो र आफन्तको
सेवा पो सेवा
जनलाई त
कसैले दिए
सित्तैमा पाए
दिने हो राहत सामग्री
समाचारका लागि ।
सानो दुःखले
पाएको होइन यो
तिमी जति
खेदो गर
जति जे भन

मेरै चरित्र बाँच्छु
देख्यौ
अदालत
देखेनौ
अदालत
स्वास्थ्य क्षेत्र
हेर्दैछौ सुरक्षा
काम गर्ने त गर्छन् नि
जोखिम मोलेर
हामीले त दुधको तर पो
सोहोर्ने हो
माथिबाट हेर्ने हो
तिमी र तिमीहरूले
आशा गर्नु नै
निराश बन्नु हो
नत्र किन नै
निराश बन्नु हो
नत्र किन नै
गर्नु पर्दथ्यो लगानी
हरेक चुनावमा
मेरो विशेषता
मेरो परिचय
यही नै हो ।

प्रतिक्रिया