नेपालमा पहिलोपटक पार्क भलिबल हुने

काठमाडौं । नेपालमा पहिलोपटक पार्क भलिबल प्रतियोगिता हुने भएको छ । ढोरपाटन क्लबले असोज दोस्रो साता ४० वर्षमाथिको पार्क भलिबलको भेट्रान प्रतियोगिता आयोजना गर्न लागेको हो ।

ढोरपाटन क्लबका अध्यक्ष मनवीर छन्त्यालले कोरोनाको असर सामान्य भएको अवस्थामा मात्रै प्रतियोगिता आयोजना गरिने जानकारी गराए । कोभिड–१९ को महामारीले विश्वसँगै नेपाल पनि अछुतो रहन सकेको छैन । प्रतियोगिता १० देखि १५ असोजसम्म नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा हुनेछ ।

पार्क भलिबलमा चार–चार जनाबीच खेल हुनेछ । खेल लिग कम नकआउटका आधारमा हुनेछ । उपत्यकाबाहिरका खेलाडीलाई खाने र बस्नेको व्यवस्था गरिएको र प्रतियोगितामा सहभागिताको लागि ५ हजार रुपैया दर्ता शुल्क तोकिएको छ ।

भेट्रान भएपनि पुर्व राष्ट्रिय खेलाडी भएको अवस्थामा एक टोलीमा एक जनामात्रै पुर्व राष्ट्रिय खेलाडी राख्न पाइनेछ । एक टोलीमा चार खेलाडी, वैकल्पिक खेलाडी र प्रशिक्षक गरी ६ जना हुनुपर्नेछ । महिला खेलाडी पनि समावेश गर्न पाइनेछ ।

प्रतियोगिताको विजेताले १ लाख रुपैया हात पार्नेछ । दोस्रो हुनेले ६० हजार तथा तेस्रो हुनेले ३० हजार रुपैया हात पार्नेछन् । चौथो स्थान हासिल गर्नेलाई पनि १५ हजार रुपैया प्रदान गरिने अध्यक्ष छन्त्यालले जानकारी गराए । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ हजार रुपैया हात पार्नेछ । व्यक्तिगत विधाका स्पाइकर, लिफ्टर, ब्लकर, डिफेन्स र सर्भरले जनही ३–३ हजार रुपैया हात पार्नेछन् ।

प्रतिक्रिया