‘ओपन स्पिकर गण्डकी २०२०’ पोखरामा सम्पन्न

कास्की । कोरोनाको महामारीका कारण एकातिर शिक्षा क्षेत्र निकै प्रभावित भएको छ । विद्यार्थीहरु आफ्नो भविष्यप्रति पनि निकै चिन्तित भइरहेका छन् । अर्को तिरविद्यार्थीको प्रतिभा प्रस्फुटन र मार्गनिर्देश गर्ने उद्देश्यले इन्जिनियर पढ्दै गरेका विद्यार्थीको पहलमा पोखराका शैक्षिक अभियन्ता श्रीकृष्ण श्रेष्ठको सल्लाहसहित स्थापना भएको स्वतन्त्र संस्था इन्सपायर एक्सीलेन्सीले भने यस लकडाउनको अविधिलाई अवसरको रुपमा लिएको छ ।

मिति २०७७–०४–०३ गतेका दिन एसईई ०७६ व्याचका विद्यार्थीका लागि अटोवेज प्रालि पोखराको प्रायोजनमा इन्सपायर एक्सीलेन्सीले अनलाईन वक्तृत्वकला ओपन स्पिकर गण्डकी २०७७ ( Open Speaker Gandaki 2020) गुगल मिट मार्फत आयोजना गरेको थियो । ५० जनाभन्दा बढी विद्यार्थीले प्रतियोगिताका लागि नाम दर्ता गराए पनि २७ जना सहभागीहरुले मात्रै प्रतियोगितामा सामेल हुने अवसर पाएका थिए ।

उक्त कार्यक्रमको अध्यक्षता इन्सपायर एक्सीलेन्सीका अध्यक्ष, इं अ स पश्चिमाञ्चल क्याम्पसमा सिभिल इन्जिनियरिङमा अध्ययनरत कुशल गौतमले गरेका थिए भने प्रमुख अतिथि अटोवेज प्रालिका अध्यक्ष नारायण पौडेल थिए ।

पोखराका शैक्षिक धरोहर किरण सापकोटाको विशिष्ट आतिथ्यता रहेको उक्त कार्यक्रमको निर्णायकमा भने नेपाली भाषा शिक्षक परिषद्का सल्लाहकार तथा पूर्व अध्यक्ष डोलराज अर्याल, नेपाली भाषा शिक्षक परिषद्का सल्लाहकार तथा पुर्व अध्यक्ष लोकचन्द्र खनाल र नेपाली भाषा शिक्षक परिषद्का अध्यक्ष डिल्लीराम अर्याल रहेका थिए ।

त्यसैगरी, उक्त प्रतियोगिताका शिर्ष पाँच स्थानमा पर्न सफल सहभागीहरुलाई साउन ५ गतेका दिन आयोजना गरिएको पुरस्कार वितरण कार्यक्रममा पुरस्कृत गरिएको थियो । प्रथम स्थानमा पर्न सफल कास्कीकी विभुषी तिमिल्सिनालाई रु ५००० , द्वितीय स्थानमा पर्न सफल पर्वतकी प्रकृति शर्मालाई रु ४०००, तृतीय स्थानमा पर्न सफल लमजुङकी स्वेता न्यौपानेलाई रु ३०००, चौथौँ स्थानमा पर्न सफल कास्कीका सौरभ खत्रीलाई रु २००० र पाँचौँ स्थानमा पर्न सफल कास्कीकी गरिमा पौडेललाई रु १००० सहित आकर्षक उपहारले पुरस्कृत गरिइएको थियो ।

सहभागी सम्पुर्णलाई पनि विशेष उपहारको आयोजना गरिएको थियो । सोही पुरस्कार वितरण कार्यक्रमका सञ्चालक इन्स्पायर एक्सीलेन्सीका समन्वय विभाग प्रमुख सागर अधिकारी थिए भने संस्था तर्फबाट अर्थ विभाग प्रमुख बिजय रायमाझीले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया