सरुको मन्त्रमुग्ध पार्ने स्वर

                शोभा ढकाल

कोरोना कहरले मानव जातिलाई सन्त्रासका बाँच्न विवश तुल्याएको छ । यसैका कारण लगाइएको बन्दाबन्दीले मानिसमा एक किसिमको अन्योल, भय तथा अनिश्चिततातिर धकेलिरहेको अनुभव भइरहेको छ । वैश्विक महामारीको रुप लिएको कोराना भाइरसले निम्त्याएको संकटमा पनि मानिसलाई हिम्मत दिने र रमाउन सिकाउने गरी विभिन्न सिर्जनात्मक तथा मनोरञ्जनात्मक काम भएका छन् ।

सामाजिक सञ्जाल तथा प्रविधिको उच्च प्रयोग गर्दै विभिन्न व्यक्ति, संस्था तथा स्रष्टाले आफूलाई व्यस्तसँगै दुरुस्त बनाएको पनि पाइन्छ । यसैबीच अमेरिका निवासी कवि सरु गुरागाईंले कोरोना भाइरसका बारेमा वाचन गरेको कविताले मानिसलाई निकै प्रभावित पारेको छ । उनले वाचन गरेको कविता ‘फर्कूँ म आमा घर ?’ ले उनलाई नेपाली साहित्य पारखीमाझ चिनाउन सफल भयो ।

शार्दूलविक्रीडित छन्दमा कमल कोइरालाद्वारा रचित उक्त कवितामा मुरारी गुरागाईंले संगीत भरेका छन भने सरूले वाचन गरेकी छन् । नेपालमा छन्दप्रतिको अनुरागमा कमी आइरहेका बेला सरुको वाचकीले एक किसिमको तरंग ल्याउन सकेको छ । उनको स्वरमा दर्शकलाई मन्त्रमुग्ध पार्ने जादु छ । यससँगै छन्द कविताप्रति मानिसको रुचि पनि बढेको छ । उनीद्वारा वाचित छन्द कविता यतिबेला सामाजिक सञ्जालमा भाइरलसमेत बनेका छन् ।

पूर्वी नेपालको इलाममा जन्मिएकी उनी हाल परिवारसहित अमेरिकाको क्यान्टकी राज्यमा बसोबास गरेकी छन् । परदेशमा रहे पनि मातृभूमिप्रतिको अगाध माया र स्नेहलाई उनले कवितामार्फत अभिव्यक्त गर्दै आएकी छन् । विदेशी भूमिबाट नेपाली माटोको माया दर्शाउँदै उनले वाचन गरेका र रचना गरेका कविताको गायकी निकै प्रभाव पार्ने खालको छ । उनको जादुयी स्वरमा वाचित कविता प्रायः छन्दमा लेखिएका छन् ।

देशलाई माया गर्ने नेपाली परदेशमा रहँदा माटोको सुगन्ध र प्रेम अझ कसिलो हुने गर्दछ । सरुद्वारा वाचित तथा रचित कतिपय कवितामा मातृभूमिको अगाध प्रेमभाव प्रकट भएको पाइन्छ । त्यस्तै, उनले समकालीन राजनीति, समाज तथा विश्वका विविध विषयमा समेत कविता प्रस्तुत गर्दै आएकी छन् । कोरोनाका कारण बन्दाबन्दीमा बसेका मानिसमा उनले प्रस्तुत गरेका कविताले कविताप्रतिको अनुराग बढाएको छ । उनको वाचकीले कविता सुन्ने, लेख्ने र वाचन गर्नेको संख्या पनि बढेको छ ।

                                सरु गुरागाईं

उनको कविता ‘परदेशमा म’ मा विदेशिनुपर्नुको बाध्ययतालाई कलात्मक रुपमा उधिनिएको छ । त्यस्तै कवितामा मातृभूमिको माया, साथीसंगी, पाखापखेरा र प्रकृति, संस्कृति तथा सामाजिक जीवनका यावत् परिवेशलाई समेटिएको छ । यसैबीच उनले कवि जीवनहरि शर्मा, प्रा.जगत्प्रसाद उपाध्याय, प्रा.डा. हेमनाथ पौडेल, डा.देवी नेपाल, रिता पोखरेल लगायतका कविता वाचन गरेकी छन् ।

हुनत् उनले बन्दाबन्दीअघि नै केही कविता वाचन गरेकी थिइन् जसलाई दर्शकले निकै मनपराएका थिए । कोरोना कहर सुरु भएपछि सरुले बुवा जीवनहरि शर्माको ‘विज्ञानको दुर्दिन’, रीता पोखरेलको ‘कर्म घरको यात्रा’, डा.देवी नेपालको ‘निस्कन्न भो बाहिर’, हेमनाथ पौडेलको ‘हार्दैन है मानिस’, कमलको कोइरालाको ‘फर्कूँ म आमा घर’ लगायत कविता वाचन गरिन् ।

जुन कविताले उनलाई नेपाली साहित्यमा निकै लोकप्रिय बनायो । साहित्यानुरागी थुप्रै व्यक्तिले आफ्नो सामाजिक सञ्जालमा सरुद्वारा वाचित कविता सेयर गर्दै कविताप्रतिको अनुराग बढेको जिकिर गरेका छन् । कोरोना कहरका बीच उनका कविता समय कटाउने एउटा दरिलो माध्यम बनेको छ । उनले कविता नसुन्ने व्यक्ति पनि आफ्नो कविता वाचन गरेपछि यसप्रति आकर्षित भएको प्रतिक्रिया पाएको बताइन् ।

प्रतिक्रिया