स्वर्ग पुगिने नाममा अन्त्येष्टिमा थानका थान कपडा

पश्चिम रुकुमको आठबीसकोटका धीरेन्द्र बटालाले आमाबुवाको अन्त्येष्टिमा झण्डै दुई हजार मिटर ‘बाट’ भनिने लामो कपडा प्रयोग गरे । आमाबुवा दुवैजनाको अन्त्येष्टिको लागि कपडा किन्न डेढ लाख रुपैयाँ खर्च भएको उनले बताए ।

‘त्यसरी खर्च गरीने पैसा सामाजिक काममा खर्च गरेको भए राम्रो हुन्थ्यो,’ उनले भने, ‘तर जन्मदिने आमाबुवाको धोको पूरा गर्न लामो ‘बाट’ हाल्नुपर्यो ।’ आमाबावु चित्त बुझाउन र समाजलाई देखाउनका लागि उनी जस्ता कैयौँ कर्णालीबासीले वर्षौँदेखि आफन्तको अन्त्येष्टिमा लामो कपडा हाल्दै आएका छन् । त्यसमा लाखौं खर्च हुने गरेको छ ।

जाजरकोट, रुकुम, सल्यान, कालिकोट, सुर्खेत, डोल्पालगायतका जिल्लामा पनि यो चलन व्यापक रुपमा चलि आएको छ । मान्छेको मृत्यु हुँदा ‘बाट’ भनिने कपडालाई शवसँगै दाहसंस्कारको लागि घरदेखि घाटसम्म लैजाने अनौठो चलन वर्षौँदेखि चल्दै आएको गाउँलेहरू बताउँछन् ।
शवलाई घरबाट उठाएर अन्तिम संस्कारका लागि खोला र नदी किनारमा लैजाँदा सेतो, निलो, रातो र पहेँलो रंगको कपडा कम्तीमा तीन थानदेखि अधिकतम ९५ थानसम्म प्रयोग गर्ने गरिएको उनीहरू बताउँछन् ।

‘बाट’ लाई अघि लगाएर शवलाई पछिपछि दाहसंस्कारको लागि लैजाने गरिएको जाजरकोटका चन्द्रबहादुर रावलले बताए । ८१ वर्षीय उनका अनुसार अन्त्येष्टिको लागि लैजाँदा बाटो देखाउन, छरछिमेक र अर्को गाउँका मानिसले पनि निधन भएको कुरा थाहा पाउन् भनेर लामो कपडालाई संकेतकारूपमा प्रयोग गरिएको हो ।

त्यसरी कपडा हाल्ने चलनले गाउँघरमा सामाजिक असमानतालाई बढवा दिएको कतिपय बताउँछन् । अन्त्येष्टिमा कपडाको प्रयोगकै आधारमा गाउँघरमा धनी र गरिब भनेर समाजले छुट्याउने गरेको समाजसेवी सुशिला सिंह बताउँछिन् ।

उनी भन्छिन् ‘इज्जत र प्रतिष्ठासँग जोडेर अरूलाई देखाउन ऋण गरेर भएपनि लामो ‘बाट’ हाल्ने होडबाजी चल्दै आएको छ ।’ छोटो कपडा प्रयोग गर्दा गाउँलेले नै खिसीटिउरी गर्ने भएकोले सकि नसकि लामै ‘बाट’ प्रयोग गर्न बाध्य हुनु परेको उनीहरूको भनाइ छ । त्यसैले सकि न सकि अरुलाइ देखाउन ऋण गरेर भए पनी बाटको कपडामा लाखौंसम्म खर्च हुने गरेको छ ।

‘संस्कार जोगाउन दुई तीन मिटरको बाट हाल्दा पनि हुन्थ्यो’ कुमाख गाउँपालिका सल्यानकी अध्यक्ष दिलमाया बुढा भन्छिन्, ‘देखासिकीकै लागि थानका थान कपडाको प्रयोग गर्ने चलनले गर्दा विपन्नलाई समस्या हुने गरेको छ ।’

यस्तो चलनलाई निरुत्साहित गर्न आफ्नो गाउँपालिकाले ३ हात मात्रै कपडा प्रयोग गर्ने चलन सुरुवात गरेको उनी बताउँछिन् । मृतकप्रति सम्मान दर्शाउन नजिकका आफन्त (छोरी,ज्वाइँ, बहिनी, दाजुभाई) ले पनि अनिवार्य रूपमा कपडा ल्याउने चलन रहेको अध्यक्ष बुढाले बताइन् । आफन्तले कम्तीमा एक–एक थान हाल्दा पनि ‘बाट’ धेरै लामो हुने गाउँलेहरू बताउँछन् ।

बाँचुन्जेल राम्रोसँग खान लाउन नपाएपनि मृत्यु हुँदा भने लामो ‘बाट’ हाल्ने चलन धेरै रहेको कालिकोटका चित्रबहादुर सिंहले बताए । ‘पहिले अहिलेको जस्तो खबर आदान प्रदान गर्ने सञ्चारका माध्यम (टेलिफोन,सामाजिक सञ्जाल) थिएनन्,’, उनी भन्छन, ‘त्यतिबेला धेरैलाई थाहा होस् भनेर लामो बाट हाल्नु स्वाभाविक भएपनि अब यसलाई कम गर्नुपर्छ ।’

कतिपय बुढापाकाले अहिले पनि आफ्नो लागि आफैले धेरै थान कपडा किनेर राख्ने गरेको उनीहरूका आफन्तजन बताउँछन् । जति लामो ‘बाट’ हालिन्छ उति छिटो स्वर्गमा पुगिन्छ भन्ने अन्धविश्वासले गर्दा बुढापाकाले आफ्नो लागि आफैले कपडा किनेर राख्ने गरेको पश्चिम रुकुमका तारक शाही बताउँछन् ।

उनी भन्छन, ‘अरूलाई देखाउन थानका थान ‘बाट’ हालेर धेरै खर्च गर्नु भन्दा बरु मृतकको नाममा विद्यालयलगायतका संस्थामा अक्षय कोष स्थापना गरेर समस्यामा परेकालाई सहयोग गर्दा आफन्तप्रति उचित सम्मान हुन्छ ।’ (बीबीसी)

प्रतिक्रिया