यार्सा संकलनमा रोक लाग्नाले घरखर्चमा समस्या

दार्चुला, जेठ ११ गते । कोरोना भाइरसको त्रास फैलिएसँगै दार्चुलामा यार्सागुम्बा संकलनमा रोक लगाइएको छ । यार्सा टिप्न हजारौँको संख्या हुने भएकाले जोखिम बढ्ने हुनाले संकलनमा रोक लगाइएको हो ।

यार्सा संकलनमा रोक लगाइएसँगै स्थानीयको आयस्रोत गुमेको छ । यार्सा टिपेर आफ्नो घरखर्च तथा छोराछोरीको पढाइ खर्च जुटाउने दार्चुलाका अधिकांश स्थानीय तहका नागरिक यसपटक भने आर्थिक मन्दी हुने चिन्तामा छन् । यार्सा संकलन नहँुदा परिवारको आम्दानी स्रोत घट्ने अपिहिमाल गाउँपालिका–४ स्थानीय उद्धवसिंह बोहराले बताए ।

‘यार्सा टिप्न जेठको पहिलो सातादेखि अनुमति जारी हुँदै आएको थियो तर यसपटक भने अनुमति नदिने भएपछि हामी स्थानीयवासी निराश छौँ’, उनले भने, ‘कोरोनाको जोखिमभन्दा पनि घरखर्च र बालबालिकाको पठनपाठन कसरी गराउने चिन्ता पलाएको छ ।’ आयस्रोतका रूपमा यार्सामा निर्भर रहेका यहाँका अधिकांश स्थानीयवासी यार्सा संकलन गरेर ऋण तिर्ने भन्दै एक वर्षदेखि नै खाद्यान्न किन्ने गर्छन् । यसपटक व्यापारीले पनि लगानी गरेका छैनन् । यार्सा बन्द भएपछि स्थानीयवासीले अहिले कसरी ऋण तिर्ने भन्ने समस्या रहेको बोहरा बताउँछन् ।

अपिहिमाल गाउँपालिका–२ का प्रेमसिंह कार्की यसपटक यहाँका स्थानीय यार्सा संकलन गर्न नपाएर समस्यामा पर्ने अवस्था आएको बताउँछन् । उनी भन्छन्, ‘यसपटक घरखर्च चलाउनै मुस्किल हुने भयो, यार्सा संकलन गर्न रोक लगाइएको छ । गाउँमा काम पनि छैन ।’

दार्चुलाको अपिहिमाल गाउँपालिका, मार्मा, व्यास, नौगाड गाउँपालिकाका धेरैजसो बासिन्दा यार्सा संकलन गर्न जाने गरेका छन् । विगतमा यसवेला विद्यालय बन्द गराएर हिमाली क्षेत्रका स्थानीयवासी यार्सागुम्बा संकलनमा जाने गरेका थिए । डेढदेखि दुई महिनासम्म हिमाली क्षेत्रमा यार्सागुम्बा र अन्य जडीबुटी संकलनमा व्यस्त रहने यहाँका स्थानीयवासी यसपटक भने बन्दाबन्दीले घरमै बस्न बाध्य छन् ।

यहाँका धेरैजसो मानिसको आयआर्जनको मुख्य स्रोत नै यार्सा हो । यसपालि यार्सा संकलन पनि ठप्प भएको व्यास गाउँपालिका–१ का विमल बोहराले बताए । उनले भने, ‘खेतपानी लगाउन पाइएको छैन, व्यापार गर्न नाका ठप्प छ, यार्सा संकलनका लागि अनुमति दिइएको छैन । यसपटक कसरी परिवार पाल्ने भन्ने चिन्ता हुन थालेको छ ।’

अपि नाम्पा संरक्षण क्षेत्रका प्रमुख संरक्षण अधिकृत अशोककुमार मेहता अहिले विश्वव्यापीरूपमा फैलिएको कोरोनाका कारण जिल्ला संकट व्यवस्थापन केन्द्रले नै निर्णय गरेर यार्सागुम्बाको संकलन अनुमति नदिने निर्णय गरेको बताउँछन् । ‘अहिलेको अवस्थामा संकलन अनुमति दिँदा जंगलमा पनि जोखिम बढ्ने खतरा हुन्छ ।’ मेहताका अनुसार एक वर्ष संकलन नभए अर्को वर्ष उत्पादन बढी हुन्छ र एक वर्ष संकलन नभए बिउ फैलिनुका साथै पुरानो बिरुवा पनि हुर्किन पाउँछ ।

यसैसाता अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयले रेञ्जर भुवनेश्वर चौधरी लगायतको टोलीलाई अपि हिमाल गाउँपालिकामा पठाएर यार्सा संकलनका लागि मान्छे लेक गए÷नगएकाबारे निरीक्षण गरी फर्किएको छ । यसपटक अहिलेसम्म कुनै पनि वन क्षेत्रमा यार्सा संकलनका लागि जंगल नगएको पाइएको छ । जिल्लामा वार्षिक पाँचदेखि सात क्विन्टलसम्म यार्सा संकलन हुने र यसबाट सरकारले मात्रै प्रत्येक वर्ष दुई करोडभन्दा बढी राजस्व संकलन गर्दै आएको छ ।

प्रतिक्रिया