पुलिसलाई राजर्षी जनक कप उपाधि

काठमाडौं । नेपाल पुलिस क्लबले आइतबार चौथो राजर्षी जनक कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सर्लाहीको बागमतीमा भारत सिलगुढीको कन्चनजंघा एफसीलाई २–१ ले हराउँदै पुलिसले उपाधि जितेको हो । पुलिसको यो वर्षको पहिलो उपाधि हो । शनिबार मात्रै पुलिसको अर्को टोली आहा रारा गोल्डकपको फाइनलमा नेपाल आयल निगम मनाङ मस्र्याङ्दी क्लबसँग टाइब्रेकरमा पराजित भएको थियो । त्यसअघि पुलिस गत महिना नवलपुरमा राइनो कपको फाइनलमा त्रिभुवन आर्मी क्लबसँग पराजित भएको थियो ।

सन्तोष श्रेष्ठ स्मृति मैदानमा आइतबार पुलिसले तीर्थ रानामगर र कप्तान जुमानु राईले गोल गरेका थिए । कन्जनजंघाका लागि अमिरले गोल फर्काएका थिए । खेलको पहिलो मिनेटमा नै पदमले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए । उनले झन्डै ३० यार्डबाट गोल गरेका थिए ।

खेलको १२ औँ मिनेटमा जुमानुले गोल अन्तरलाई दोब्बर पारेका थिए । पदम भट्टराईको लामो फ्रिकिकमा पेनाल्टी एरियाको लाइनमा रहेका जुमानुले हेडमार्फत फिल्क गर्दै गोल गरेका थिए । १९ औँ मिनेटमा अमिरले पेनाल्टी बक्सको ठिक बाहिरबाट गोल गर्दै अन्तर घटाएका थिए ।
पुलिसले उपाधिसहित १० लाख रुपैयाँ र कन्चनजंघाले ५ लाख रुपैयाँ प्राप्त गरेको थियो । प्रतियोगिता बागमती नगरपालिका र बागमती युवा क्लबले संयुक्त  रूपमा आयोजना गरेका थिए ।

प्रतिक्रिया