व्यावहारिक समालोचनालाई फन्काे मार्दा

प्रारम्भ
नेपाली प्रगतिशील साहित्यका क्षेत्रमा आनन्ददेव भट्ट (जन्मः वि.सं. १९९३ जुम्ला) नेपाली वाङ्मयको श्रीवृद्धिमा झण्डै सात दशकदेखि क्रियाशील रहेका स्रष्टा हुन् । उच्च शिक्षाको राम्रो अवसर पाएका भट्ट अंग्रेजी विषयमा दक्ष छन् । पाठ्यक्रम निर्माण तथा प्राध्यापनमा लामो समय व्यतित गरेका भट्टको व्यक्तित्वका विभिन्न आयाम छन् ।

उनको ‘म तयार छु’ कविता पहिलोपटक २०१३ सालको इन्द्रेणी (वर्ष १ अंक ८) मा प्रकाशित भयो । त्यहीवेलादेखि उनको लेखन यात्रा सुरु भएको हो । भट्ट माक्र्सवादी अवधारणालाई साहित्य, समालोचना र व्यवहारमा प्रयोग गर्ने स्रष्टा द्रष्टा हुन् । उनका नौ ओटा काव्यकृति, ६ ओटा समालोचनात्मक कृति, एउटा अनुवादात्मक कृति, एउटा दर्शनसम्बन्धी कृति, एउटा राजनीति विषयक कृति, दुईओटा निबन्ध संग्रह प्रकाशित रहेका छन् । पुस्तक र पुस्तिका गरी दुई दर्जन कृतिहरू प्रकाशित गरेका भट्टको मूल क्षेत्र कविता र समालोचना हो ।

दर्जन पुरस्कार र सम्मान प्राप्त गरिसकेका भट्ट हालसम्म पनि संस्थागत अभियानमा जुटिरहेका छन् । प्रगतिशील लेखक संघको अध्यक्ष भइसकेका भट्ट विचारका हिसाबले माक्र्सवादी हुन् । नेपाली कम्युनिस्ट आन्दोलनमा लामो समय संगठित र केही समय अत्यन्त सक्रिय रहेका भट्ट सामूहिक वाम व्यक्तित्वका रूपमा परिचित छन् । कुशल शिक्षक, कुशल प्रशासक र मृदुभाषी वक्ताका रूपमा उनी सबैसामु परिचित छन् ।

समालोचना र प्रवृत्ति
समालोचनाको बाटोतिर शीर्षकको समीक्षा संग्रह २०१९ मा प्रकाशित गरेका भए पनि भट्ट २०१५÷०१६ सालबाटै समालोचना लेखनको यात्रामा जोडिएका देखिन्छन् । हाम्रा प्रतिभाहरू (२०१९), प्रतिभा पहिचान (२०४७), जनताको साहित्य (२०४८), व्यावहारिक समालोचना (२०४८), समय साहित्य (२०६७) उनका प्रकाशित समालोचनात्मक पुस्तककार कृतिहरू हुन् । सैद्धान्तिक लेखनदेखि परिचयात्मक लेखनसम्मको प्रायः सम्पूर्ण समीक्षाको पाटोमा विचरण गर्न भ्याएका भट्टका छरिएका फाटफुट समालोचनात्मक रचनाहरू पनि छन् ।

भट्टले समालोचनालाई धेरै क्लिस्ट विषय नबनाएर जनसामान्यको सहयोगी विषयका रूपमा परिचित तुल्याइदिएका छन् । सकारात्मक पक्ष र पाटोलाई देखाउँदै कमीकमजोरी पक्षमा सुधारको आग्रह गर्नु उनको समालोचनात्मक वैशिष्ट्य हो । अंग्रेजी, हिन्दी आदि भाषाका समेत राम्रा वक्ता र प्रयोक्ता भएकाले उनका समालोचनाको लेखाइ अत्यन्त सरल वाक्य गठनमा संरचित हुन पुगेको छ । सामान्यभन्दा सामान्य विषयको परिचय पनि दिन रुचाउने र जटिलभन्दा जटिल विषयमा पनि सरल परिचय दिनसक्ने उनको समालोचनाको खुबी हो ।

लेख्ने र लेखिरहने उनको स्वभावलाई केही समय शिक्षण र प्रशासनले केही बिथोलेको देखिन्छ । समालोचना लेखनको यात्रामा एउटा मात्र धार र प्रतिभालाई महŒव नदिई सबै प्रवृत्तिका कृतिहरूलाई समाजोपयोगी दृष्टिकोणबाट हेर्नु उनको लेखनगत थप विशेषता हो । प्रगतिशील र प्रगतिवादी स्रष्टामा मात्र अल्झने वा प्रगतिवादीहरूका नामै सुन्न नचाहने समालोचनात्मक यात्रामा उनको उपस्थिति देखिँदैन । विचार र पार्टीप्रति जति बफादार भए पनि उनी अरूका राम्रा कुराको अवलम्बन गर्नु पर्ने कुरामा अडिग देखिन्छन् ।

व्यावहारिक समालोचना
व्यावहारिक समालोचना (२०४८ सालमा प्रकाशित) उनको समालोचना यात्राको एक महŒवपूर्ण प्राप्ति हो । यस समालोचना संग्रहमा समालोचक भट्टले आपूmलाई अत्यन्त सन्तुलित, सार्वजनिक र वस्तुवादी देखाएका छन् । उनको साहित्यलाई हेर्ने माक्र्सवादी चिन्तन धारा भने यस पुस्तकमा पनि राम्रोसँग नै उजागर भएको छ । यस समालोचना संग्रहमा भट्टले आफ्ना १६ ओटा समालोचनालाई समावेश गरेका छन् । गंगाप्रसाद उप्रेतीको गहकिलो तर अलि प्रशंसापरक भूमिकाबाट सुरु भएको यो समालोचना संग्रहले अग्रज स्रष्टा र अनुज प्रतिभा दुवैलाई समान महत्व दिएको पाइन्छ ।

यस समालोचना संग्रहमा प्रगतिवादी साहित्यः हाम्रो आवश्यकता, कवि सिद्धिचरण श्रेष्ठमा क्रान्तिकारिता, तीन घुम्तीमा विश्वेश्वरप्रसाद कोइराला, राल्फा सम्बन्धमा केही कुरा आदि समालोचनाहरू क्रमशः राखिएको छ । यहाँ उनका समालोचनाका दुई पक्ष रहेकाले पनि समालोचना संग्रहको प्रवृत्ति बुझ्न सहज भएको छ ।

पारिजात, विश्वेश्वरप्रसाद कोइराला, रिमालजस्ता प्रतिभाका रचनालाई पनि समाज सापेक्ष कसीमा उतार्दै उनले कालजयी स्रष्टाका आधारभूत स्वरूप र विशिष्ट रूप पाइएको तथ्य प्रस्तुत गरेका छन् । यसका अतिरिक्त हरिभक्त कटुवाल, दिनेश अधिकारी, विक्रम सुब्बा आदिका बारेमा उनले न्यायपूर्ण आलोचना प्रस्तुत गरेका छन् ।

प्रगतिवादी साहित्यः हाम्रो आवश्यकता चिन्तनमूलक लेख हो भने कविता कस्तो हुनुपर्दछ सैद्धान्तिक र वैचारिक लेखका रूपमा रहेको छ । आलोचनाको उदय र अस्त, राल्फाका सम्बन्धमा केही कुरा आलोचकीय दृष्टि प्रस्तुत गरिएका समालोचनाहरू हुन् । खगेन्द्र सङ्ग्रौला र उनका दुई कृतिका बारेमा पनि उनले यहाँ बोलेका छन् । मूलतः प्रगतिशील स्रष्टाप्रति बढी लगानी गरेका भट्टले समकालीन साहित्यको राम्रो आँकलन गर्न भ्याएका छन् । कवि रिमालका सम्बन्धमा भट्टले भनेका छन्;

‘कवि रिमालजी साम्यवादी कवि हुनुहुन्न । जसरी हृदयचन्द्र सिंहले कवि व्यथितज्यूलाई उहाँका कैयन् परिवर्तनशील विचार र प्रगतिवादी विचारका निम्ति साम्यवादी कवि भन्ने गल्ती गर्नुभएको छ । त्यस्तै रिमालजीमा पाइने परिवर्तनशील नयाँ प्रगतिवादी विचारका निम्ति उहाँलाई साम्यवादी कवि ठान्ने किसिमका विचार पनि उम्रन सक्छन् ।’

यसरी समालोचक भट्ट नेपाली साहित्य र राजनीतिको प्रवाहलाई अत्यन्त सन्तुलितरूपमा भट्ट नेपाली साहित्य राजनीतिको प्रवाहलाई अत्यन्त सन्तुलित रूपमा हर्नुपर्ने भाव व्यक्त गर्दछन् । भावुकतावश कसैलाई केही उपाधि दिइहाल्दा त्यस उपर प्रमाण नपुगेका उदाहरणबाट सिक्नुपर्ने सैद्धान्तिक साक्ष्यमा व्यावहारिक तथ्य पेस गर्छन् ।

समालोचक सिंगो कृतिको मात्र नभई एउटा रचनाको विश्लेषणमा पनि उत्तिकै प्रभावकारी मूल्यांकन गर्ने व्यक्तिका रूपमा चिनिन वादरिन पुगेका छन् । ‘अन्तर आत्माको चित्कार’ मा कथाकार खगेन्द्र सङ्ग्रौला शीर्षकको समालोचनामा उनले समालोचनाको सैद्धान्तिक प्रारूपलाई व्यावहारिक स्वरूप दिएका छन् । उनको समालोचना लेखन शोधलेखमूलक बनेको देखिन्छ ।

तथ्य र प्रमाणविना सत्य उद्घाटन र न्याय निरूपण नहुने कुरामा उनको समालोचकीय चेत खुलेको छ । उठान, विषयवस्तु, पात्रहरू, परिवेश, उद्धरण, उपमा आदिको प्रयोग तथा निष्कर्ष आदि अत्यन्त सरल तर प्रणालीगत रूपमा प्रयोग गरेका छन् । जेहोस् भट्ट माक्र्सवादी विश्वदृष्टिकोणका आधारमा स्रष्टा र सिर्जनालाई मूल्यांकन गर्ने समालोचकीय चेत भएका समालोचक हुन् ।

सार
माक्र्सवादी अवधारणालाई साहित्य, समालोचना र व्यवहारमा प्रयोगसमेत गर्ने आनन्ददेव भट्ट छ ओटा समालोचनात्मक कृतिका कृतिकार हुन् । प्रकाशित भएको व्यावहारिक समालोचना (२०४८) सम्म आइपुग्दा भट्ट भाषालाई बढी औपचारिकरूपमा प्रयोग गर्ने समीक्षकका रूपमा देखा पर्छन् । स्रष्टा सम्मान होइन समानता खोज्ने वर्ग भएकाले पनि त्यसको विचार उनको समालोचनामा पुग्न सकेकै देखिन्छ ।

शीर्षक चयन, निष्कर्ष दिने शैली, सिद्धान्त वा विचारलाई व्यावहारिक धरातलमा उतार्ने उनको खुबीलाई पछिल्ला पुस्ताका सुगम समीक्षा यात्राका समीक्षक÷समालोचकले समेत प्रशस्त मात्रामा उपयोग गरेका छन् । सरल भाषामा गम्भीर प्रस्तुति उनको समालोचनात्मक सीमा र शक्ति हो । कतिपय कमीकमजोरीका बिचमा पनि माक्र्सवादी विचारको परिधिबाट फुत्किन नसक्नु समालोचक भट्टको वैचारिक चेतको आलोक हो । उनको सैद्धान्तिकभन्दा बढी व्यावहारिक पक्षलाई समेटिएको यस समालोचना संग्रहमा समालोचनाको सम्यक् दृष्टि परेको देखिन्छ ।

प्रतिक्रिया