होमस्टे सञ्चालकलाई स्थानीय खाना बनाउने तालिम

म्याग्दी । जिल्ला भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकहरूले स्थानीय खानाका परिकारहरूमा चासो देखाएपछि जिल्लाका ग्रामीण भेगका होमस्टे (घरवास) हरूलाई लक्षित गरेर स्थानीय खानाका परिकार बनाउने तालिम सञ्चालन गरिएको छ । ग्रामीण भेगमा सञचालन गरेका होमस्टे सञ्चालकलाई स्थानीय रूपमा उत्पादित बस्तुको विभिन्न परिकार र स्वादिष्ट खाना बनाउनका लागि कृषि ज्ञान केन्द्र म्याग्दीले तालिम सञ्चालन गरेको हो ।

म्याग्दी र मुस्ताङमा स्थानीय तहमा होमस्टे सञ्चालकलाई दुई समूहमा विभाजित गरेर तालिम सञ्चालन गरिएको केन्द्रका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले जानकारी दिए । उनले एक नगरपालिका, पाँच गाउँपालिकाका २५ जना होमस्टे सञ्चालकलाई आइतबारदेखि मंगलबारसम्म रैथानेबालीको परिकार सम्बन्धी तालिम दिएको छ, भने १४ देखि १६ गतेसम्म म्याग्दीसहित मुस्ताङका होमस्टे सञ्चालकलाई तालिम दिइने उनले बताए ।

ग्रामीण भेगको पर्यटनको विकास तथा थोरै लगानी जनताको आर्थिक जीवनस्तर उकास्न परम्परागत खेतीलाई व्यावसायिक रूपमा विकास गराउन केन्द्रले तालिम आयोजना गरेको कार्यालयका प्रमुख गोविन्दराज कोइरालाले बताए । जिल्लामा ग्रामीण भेगमा सञ्चालन गरेका होटल तथा होमस्टे सञ्चालकलाई व्यवसायीलाई रैथाने बालीको परिकार बनाउन मद्दत पुग्ने प्रमुख कोइरालाले बताए ।

ग्रामीण भेगका होमस्टेमा विषादीयुक्त उत्पादित बस्तुको निराकरण, बजारीय खानाको विस्थापन र स्थानीय रूपमा उत्पादित कोदो, मकै, केरा, तरुल, आलु, फापर, सागपात लगायतको खेतीलाई व्यावसायिक रूपमा उत्पादन बढाउन होमस्टेसम्बन्धी तालिमले सहयोग पुग्ने कृषि प्रसार अधिकृत पाण्डेले बताए ।

तािलम प्रशिक्षक घनश्याम गिरीले तालिममा सहभागीलाई होमस्टेमा आउने पाउनालाई आफ्नै वरिपरि पाइने सामग्रीबाट राम्रो परिकार बनाएर पाहुना खुसी पार्न सकिने ज्ञान र सीप सिकाउने बताए । उनले परम्परागत रूपमा ग्रामीण भेगमा उत्पादन हुने कोदोको मम र पिजा, तरुलको चिप्स र खिर, पिडालु साँदेको, फापरको परौठा र पकौडा, आलुको परिकार लगायतको विभिन्न परिकार तीन दिनसम्मको तालिममा सिकाउने बताए ।

स्थानीय तहले ग्रामीण भेगका बस्तीहरू सुगम बन्दै छन् । रैथाने बाली उत्पादन र परिकारको तालिमले नेपाली खाना पहिचान सिकाउन मद्दत पुग्ने तालिममा सहभागीले बताए । घर वरिपरिका खाद्यान्न तथा सागसब्जीबाटै पाहुनालाई मन पर्ने मौलिक स्वादको परिकार जानेका थिएनौँ, यस तालिमले परिकार र स्थानीय परम्परागत बालीको महत्व र प्रांगारिक खानाबाट आफ्नो परिवार र पाउनालाई स्वास्थ्य राख्न सहयोग पुग्ने मंगला गाउँपालिका–३ पर्यटकीयस्थल झाँक्रीपानी सामुदायिक होमस्टे सञ्चालन गरेका यामबहादुर छन्त्यालले बताए ।

कृषि ज्ञान केन्द्र रैथानेबालीको पकेट क्षेत्रको निर्धारण गरेर उत्पादन बढाउने, गुणस्तर बिउवीजन उत्पादन गरेर परम्परागत खेतीको संरक्षण लागि विभिन्न तालिम सञ्चालन गरेको छ । म्याग्दीको ग्रामीण भेगमा पर्यटन विकासका लागि प्रदेश सरकारले सञ्चालनका लागि स्वीकृत गर्दै अनुदान र व्यक्तिगत लगानीबाट सञ्चालित होमस्टेको विकास र थप विस्तार गर्नका लागि रैथाने बालीको परिकारसम्बन्धी तालिमले सहयोग पुग्ने देखिन्छ ।

प्रतिक्रिया