शिवरात्रिको तयारी अन्तिम चरणमा

काठमाडौं । पशुपति क्षेत्रमा लाग्ने शिवरात्रि मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । दर्शनर्थी व्यवस्थापन, सुरक्षा, सरसफाइ, प्राथमिक उपचार, पार्किङलगायतको तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

शिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा ६ हजार सुरक्षाकर्मी र ४ हजार स्वयंसेवक खटाइएको छ । गैरकानुनी क्रियाकलाप नियन्त्रण र सुरक्षाका लागि प्रहरी परिचालन गर्न लागिएको हो । भक्तजनलाई आवश्यक पर्ने वा स्वास्थ्यमा समस्या आउनसक्ने भएकाले ३३ वटा स्वास्थ्य संस्थासँग सम्झौता भएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालले जानकारी दिए ।

यसपटक फागुन ९ गते परेको शिवरात्रिमा पशुपतिनाथको दर्शनका लागि स्वदेश तथा विदेशबाट भक्तजन आउने क्रम सुरु भएको छ । भीड धेरै हुने भएकाले चोरी, लुटपाट हुन सक्नेतर्फ प्रहरी सक्रिय भएको भएको कोषको भनाइ छ । प्रहरीले गैरकानुनी गतिविधि नियन्त्रणदेखि दर्शनका लागि पुग्ने भक्तजनको लाम मिलाउने, सवारीसाधन पार्किङ व्यवस्थापनमा पनि सघाउनेछ । सरकारी सवारी साधनका लागि पशुपति क्षेत्र विकास कोषमा पार्किङको व्यवस्था गरिएको छ । साथै अन्यका लागि सिफल, तिलगंगामा पार्किङको व्यवस्था छ ।

दर्शनार्थीका लागि पश्चिममा चार लाइन, दक्षिणमा तीन लाइन, उत्तरतर्फ तीन लाइन राखिने कोषले जनाएको छ । दर्शनार्थीको अवस्था हेरी पशुपति दर्शन गर्नका लागि चारै ढोका खुल्ला रहनेछ । प्रविधिबाट निगरानी, कुकुरसहितको सुरक्षा जाँचको तयारी गरिएको छ । भीडमा महिलाको गहना तथा पैसा लुट्ने गिरोह सक्रिय हुन सक्छन् । त्यसका लागि सादा पोसाकमा महिला प्रहरी परिचालन हुनेछन् । सुरक्षा व्यवस्थापनका लागि कमान्ड पोस्टसमेत बनाइने छन् ।

नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी पनि सुरक्षामा खटिँदै आएको छ । गाँजा, भाङलगायत पदार्थ बेच्ने, सेवन गर्ने र बिक्री–वितरणमा पनि प्रतिबन्ध लगाइएको छ । कानुनविपरीतका गतिविधि गर्नेलाई नियन्त्रणमा लिएर कारबाही गरिने उनको भनाइ छ । शिवरात्रिका दिन ट्राफिक व्यवस्थापन पनि भरपर्दो बनाउने तयारी रहेको छ ।

संस्थानको २४ लाख
गुठी संस्थानले महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने साधुसन्तका लागि धुनी, खाना एवं दक्षिणा दिई बिदाइ गर्न २४ लाख बजेट विनियोजन गरेको छ । महाशिवरात्रिका अवसरमा पशुपतिमा आउने साधुसन्तको धुनी, खाना र बिदाइ स्वरूप दक्षिणाको व्यवस्थाको जिम्मेवारी पूरा गर्दै आएको छ ।

पशुपति क्षेत्रमा आउने साधुसन्तका लागि फागुन कृष्ण एकादशीदेखि औँसीसम्म धुनीका लागि दाउरा, खाना र बिदाइका वेला दक्षिणा दिने परम्परा रहेको संस्थान गोश्वारा कार्यालय पशुपतिका प्रमुख उमा आचार्यले बताइन् । दुई हजारभन्दा बढी साधु सन्त पशुपतिमा आइसकेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । फागुन ७ गते एकादशीदेखि साधुसन्त पशुपतिनाथको मूल मन्दिरमा प्रवेश गर्ने संस्थानले जनाएको छ । औँसीका दिन बिदाइ नभएसम्म मूल मन्दिरभित्र नै साधुसन्त बस्न पाउने परम्परा छ ।

साधुसन्तलाई प्रदान गरिने धुनी, खाना र दक्षिणाको संकल्प एकादशीकै दिन राष्ट्राध्यक्षले गर्ने परम्परा पनि रही आएको छ । यस वर्ष एकादशीका दिन बिहान सवा दश बजे राष्ट्रपति विद्यादेवी भण्डारीले संकल्प गर्ने कार्यक्रम तय भएको पनि संस्थान पशुपति गोश्वारा कार्यालय प्रमुख आचार्यले बताए । संकल्पमा लोटा, चम्मर, घण्टी, राडी एक सेट र दक्षिणा हुन्छ ।

संकल्प गरिएको सामग्री मूल साधुलाई दिइने गरिएको छ । यस वर्षको मूल साधु पनि एकादशीकै दिन तय हुने संस्थानले जनाएको छ ।

यसबाहेक कोषले पनि धुनी, खाना र बिदाइका लागि बेग्लै व्यवस्था गर्छ । कोष स्थापना हुनुअघि संस्थानले सबै व्यवस्था गर्ने गरेको थियो । प्रत्येक वर्ष महाशिवरात्रिमा पशुपतिमा भक्तजनको संख्या बढ्न थालेपछि स्थापनासँगै कोषले पनि साधुसन्तका लागि धुनी, खाना र बिदाइमा बजेट विनियोजन गर्न थालेको हो ।

प्रतिक्रिया