विद्यार्थीलाई स्विटर वितरण

अर्घाखाँची । जनजागृति माध्यमिक विद्यालय भूमिकास्थान–१० धनचौरमा अध्ययनरत सम्पूर्ण विधार्थीलाई न्यानो स्विटर वितरण गरिएको छ । वुटवलमा होजियारी उद्योग सञ्चालन गर्दै आएका पूर्व साविक धनचौर गाविसका अध्यक्ष अर्जुन गैरेको नेतृत्वको टिमले उक्त स्विटर वितरण गरेको हो ।

विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थी जनप्रतिनिधीहरूको उपस्थितिमा बालविकासदेखि कक्षा १२ सम्म अध्ययन गर्ने ५ सय ५० विद्यार्थीलाई वितरण गरिएको विद्यालयका प्रधानध्यापक पिताम्वर खनालले बताए ।

स्वीटर वितरण गर्दै गैरेले शिक्षा नै विकास र समृद्धिको मूलआधार भएकाले यसको विकासमा सबैपक्ष एक हुनुपर्ने बताए । गैरेले भने, ‘म पहिला यो गाविसको अध्यक्ष हुँदा नै शिक्षा क्षेत्रमा विशेष काम गर्नुपर्छ भनेर गरेकै हो अहिले पनि विद्यार्थीलाई सानो भए नि सहयोग गरौँ भन्ने भावनाका साथ साथीहरूको सल्लाहमा यो काम गरियो ।’

उक्त विद्यालयमा अध्ययन गर्ने सुनिता नेपालीले सबैले एकै खाले स्वीटर लगाउन पाउँदा खुसी लागेको बताइन् । उनले भनिन्, ‘स्विटर पाउँदा खुसी भएको छौँ, हामी विद्यार्थीसँग पैसा हुँदैन । पटकपटक घरमा पैसा माग्दा नि समस्या हुन्छ, विद्यार्थी जीवन आफैँमा कठिन जीवन हो ।’ विद्यालयले निःशुल्क स्विटर वितरण गरेकाले हामी अभिभावकलाई पनि सामुदायिक विद्यालयले केही गर्छ भन्ने ऊर्जा मिलेको अभिभावक ओमलाल भुसालले बताए ।

भौगोलिक हिसाबले अलि विकट ठाउँमा पर्ने हाम्रो विद्यालयले गुणस्तरीय शिक्षा र विद्यार्थी संख्याको हिसाबले निकै माथि छ । यस विद्यालयमा अध्ययन गर्ने सम्पूर्ण विद्यार्थीलाई निःशुल्क स्विटर वितरण गर्दा निकै खुसी लागेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव रेग्मीले बताए ।

कक्षा ११ र १२ सम्म शिक्षा र व्यवस्थापन संकायसम्म अध्ययन अध्यापन हुने विद्यालय पछिल्लो समय नमुना विद्यालयको रूपमा छनोट भएको छ । विद्यालयले शैक्षिक गुणस्तर कायम गर्न विभिन्न योजनाहरूको निर्माण कार्य गरिरहेको विद्यालयका कर्मचारी रुद्र भट्टराईले बताए ।

हृदय भुसाल

अर्घाखाँची

प्रतिक्रिया