थ्री स्टारले गर्यो लिगको अन्त्य

काठमाडौं । रुस्लान थ्री स्टार क्लबले जितका साथ कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको अन्त्य गरेको छ । अन्तिम खेलमा च्यासल युथ क्लबलाई २–० ले हराउँदै थ्री स्टारले जितका साथ लिगको बिट मारेको हो । थ्री स्टारको जितमा दोस्रो हाफमा भारतीय खेलाडी लाल रमाविया र अनन्त तामाङले गोल गरेका छन् । यो खेल अघि नै थ्री स्टारले लिगमा कम्तीमा चौथो स्थानमा रहँदै अन्त्य गर्ने पक्का गरेको थियो । च्यासललाई हराएपछि टोली २६ अंकका साथ तेस्रो स्थानमा उक्लेको छ ।

तर, नेपाल आयल निगम मनाङ मस्र्याङ्दी क्लब आजै हुने अर्को खेलमा विजयी भएको खण्डमा भने थ्री स्टार पुनः चौथो स्थानमा झर्नेछ । थ्री स्टारले १३ खेलमा ८ जित, २ बराबर र ३ खेलमा हार बेहोरेको थियो । आफ्नो अन्तिम खेल अघि मनाङको २५ अंक छ । मनाङले आज प्रभु बैंक जाउलाखेल युथ क्लबको सामना गर्दैछ । शनिबार हुने शीर्षस्थानको त्रिभुवन आर्मी क्लब (२९ अंक) र दोस्रो स्थानको सानमिगेल मछिन्द्र क्लब (२८ अंक) को खेलले यसपटक लिग उपाधिको छिनोफानो गर्नेछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा रमावियाले ७० औं मिनेटमा गोल गर्दै थ्री स्टारलाई अघि बढाएका थिए । दिपेश घलेलाई अभिषेक लिम्बुले अनावश्यक फउल गरेपछि निशान खड्काले प्रहार गरेको फ्रिकिकलाई लालले हेडमार्फत गोलमा परिणत गरेका थिए । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा अनन्त तामाङले पेनाल्टीमा गोल गर्दै थ्रीस्टारको अग्रतालाई दोब्बर पारे । लालरमावियालाई छिरिङ गुरुङले पेनाल्टी बक्समा लडाएपछि थ्रीस्टारले पेनाल्टी पाएको थियो ।

त्यसबाहेक पनि थ्री स्टारले गोलको मौका पाएको थियो । तर सफल भएन । आठौं मिनेटमा मिक्छेन तामाङको कर्नरमा अनन्तको हेडरलाई ९० दिनको निलम्बन फुकुवापछि फर्केका दिनेश राजवंशीले गोल लाइनबाट बचाउँदा थ्री स्टार अग्रता लिनबाट चुक्यो । १४औं मिनेटमा सुशील राईको प्रहार दोस्रो बारबाट थोरै बाहिरियो ।

लगत्तै सन्जोक राईको पासमा लाल रमावियाको पेनाल्टी बक्सभित्रको सशक्त प्रहार बाहिरिदा थ्री स्टार पुनः अग्रता लिनबाट चुक्यो । २०औँ मिनेटमा थ्री स्टारका सन्जोकले गोल गरेपनि उनी अफसाइड ठहरिए । २३औं मिनेटमा च्यासलका सुनिल बलको प्रहार आकासियो । ३४औं मिनेटमा सुनिलको प्रहारलाई थ्रीस्टारका गोलरक्षक प्रिसोले सहजै नियन्त्रणमा लिए ।

५८औं मिनेटमा अशोक खवासको क्रसमा सुसान श्रेष्ठको हेडर बाहिरियो । ६९औँ नितिन थापाको प्रहारलाई प्रिसोले बचाए । ७५औँ मिनेटमा लालरमावियाको प्रहारलाई च्यासलका गोलरक्षक एलेन न्यौपानेले दोस्रो प्रयासमा बचाए । अभिषेक लिम्बूले क्लियर गरेको बललाई लालले नियन्त्रणमा लिँदै गरेको प्रहारलाई पञ्च गर्दै दोस्रो प्रयासमा बचाए । इन्ज्युरी समयमा सन्जोक राईको प्रहार गोलरक्षक एलेनले बचाए ।

शेर्पाको जित

शुक्रबार पहिलो खेलमा हिमालयन शेर्पा क्लबले न्युरोड टिम (एनआरटी) लाई २–१ गोल अन्तरले पराजित गरेको छ । ३१ औं मिनेटमा राजेश परियारले गोल गर्दै एनआरटीलाई सुरुवाती अग्रता दिलाए । उनले एकल प्रयासमा पेनाल्टी बक्सबाहिरबाट गोल गर्न सफल भएका थिए । ४१ औँ मिनेटमा हिमालय शेर्पाका स्टेफेनले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा त्रिदेव गुरुङले गोल गर्दै शेर्पालाई २–१ को अग्रता दिलाए । त्यसपछि थप गोल निस्कन नसक्दा शेर्पा २९१ ले बिजयी भएको हो । योसँगै हिमालयन शेर्पा १३ खेलमा १४ अंकका साथ १० औं स्थानमा उक्लिएको छ । एनआरटी १३ खेलमा १५ अंकका साथ नवौं स्थानमा रहेको छ ।

प्रतिक्रिया