ढाका कपडा सिलाएर आत्मनिर्भर बन्दै महिला

रामपुर । पाल्पाको रामपुरका महिला ढाका कपडा सिलाएर आत्मनिर्भर बन्दै गएका छन् । रामपुर बचत तथा ऋण सहकारीले ढाका कपडा सिलाइ तालिम दिएपछि अहिले महिला आत्मनिर्भर हुन थालेका हुन् ।

सहकारीले तालिम दिएपछि बेझाड बजारमा रेखादेवी श्रेष्ठले पसल नै राखेर ढाका कपडा सिलाउने गर्नुहुन्छ । उहाँले महिला तथा पुरुष, बच्चाका विभिन्न ढाका कपडा सिलाउने गरेको बताउनुभयो । बेरोजगार बसेका महिलालाई सहकारीबाट तालिम पाएपछि रोजगार बनाएको उहाँको भनाइ छ ।

ढाका कपडा सिलाएर उहाँले मासिक २० हजार रुपैयाँ आम्दानी गर्नुहुन्छ । यसैबाट घरखर्च, छोराछोरीको पढाइ खर्च चलेको छ । सहकारीले दुईपटकसम्म गरी २० जना महिलालाई चार महिनाको तालिम उपलब्ध गराएपछि महिला व्यवसायमा अग्रसर भएर लागेका छन् ।

पहिलादेखि नै सिलाइकटाइको काम गर्दै आएकी इन्दु परियारले पनि ढाका कपडाको तालिम पाएपछि पेशालाई व्यावसायिक तवरले अगाडि बढाएकी छन् । तालीमपश्चात् अहिले व्यावसायिक रूपमा पसल सञ्चालन गरी आफू मात्र नभई चारजनालाई रोजगारीसमेत दिएको परियारको भनाइ छ ।

सहकारीले व्यावसायिक बनाउन रामपुरका २० महिलालाई ढाका कपडा सिलाइ तालिम तथा एक–एकवटा मेसिनसमेत उपलब्ध गराएको अध्यक्ष राजुप्रसाद श्रेष्ठले बताए । व्यवसाय गर्न सोच बनाएका तर सीप नपाएर बेरोजगार बनेका महिला सहकारीमार्फत सीपमूलक तालिम पाएपछि उत्साहका साथ व्यवसायमा लागेका छन् । रामपुरमा नै ढाका कपडाका विभिन्न उत्पादन हुन थालेपछि अहिले माग बढ्दो रहेको यसमा संलग्न महिला बताउँछन् ।

सदरमुकाम तानसेनबाट ढाकाको कपडा खरिद महिलाले व्यवसाय चलाउने गरेका छन् । रामपुर क्षेत्रमा विशेषगरी झोला, हाते पर्स, आस्कोट, चोलीहरू, बच्चाका लागि दौरा सुरुवालको बढी माग आउने गरेको छ । रामपुर घुम्न आएका व्यक्तिले ढाकाको कपडाबाट उत्पादित सामान कोसेलीका रूपमा लैजाने गरेका छन् । पाल्पा, स्याङ्जा, तनहुँ र नवलपरासीको संगमस्थल रहेको रामपुर बजारमा ढाका कपडाबाट उत्पादित सामग्री विशेष आकर्षणका रूपमा रहेको छ ।

प्रतिक्रिया