विपद्को सामना गर्न पूर्व तयारी

बझाङ । जिल्लाका सबै स्थानीय तहमा विपद् पूर्व तयारी प्रतिकार्य योजना निर्माण हुने भएको छ । युनिसेफ नेपालको सहयोगमा जयपृथ्वी नगरपालिकाद्धारा पहिलोपटक जयपृथ्वी नगरपालिका क्षेत्रका सवै वडापालिकाहरुमा विपद् पूर्व तयारी प्रतिकार्य योजना निर्माण गरिने जानकारी प्राप्त भएको छ ।

युनिसेफ नेपालको सहयोग तथा जयपृथ्वी नगरपालिकाद्वारा आइतबार सदरमुकाममा आयोजित स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना र विपद् पूर्व तयारी प्रतिकार्य योजना निर्माणसम्बन्धी भएको एकदिने अन्तर्क्रियात्मक कार्यक्रममा उक्त कुरा जानकारी भएको हो ।

स्थानीय तहको विपद् जोखिम न्यूनीकरण गर्ने उद्देश्य अनुरूप उक्त योजना निर्माण गर्न थालिएको युनिसेफ नेपालले जनाएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा उल्लेख भएअनुसार विपद् व्यवस्थापनसम्बन्धी कानुन र मापदण्ड निर्माण गरी विपद् प्रतिकार्य योजना निर्माण हुने भएको छ । विपद्लाई प्राकृतिकजन्य विपद् र मानवजन्य विपद् गरी दुई भागमा विभाजन गरिएको छ ।

भूकम्प, महामारी, असिना, चट्याङ लगायतका विपद्को सामना गर्न पूर्व तयारी तथा प्रतिकार्य योजना निर्माणमा सबैको सहयोगको अपेक्षा गरिएको छ । जयपृथ्वी नगरपालिका अन्तर्गतका ११ वटै वडा स्तरमा रहेका विपद्सम्बन्धी सम्भावना र चुनौतीहरूको वास्तविक तथ्यांक संकलन गरी प्रतिकार्य योजना निर्माण गरिने युनिसेफ नेपालका राजेश मगरले जानकारी दिएका छन् ।

विपद् जोखिम न्यूनीकरण विपद् व्यवस्थापन र खोज तथा उद्दार गर्न नगरपालिका अन्तर्गतका सबै शाखाले आफ्नाे ठाउँबाट तत्काल सहयोग गर्न प्रतिवद्धता जनाएका छन् । विपद् प्रतिकार्य योजना निर्माण गर्दा वडास्तरमा विपद् जोखिम नक्सांकन, गर्ने आपतकालीन कोष निर्माण गर्ने विपद् आइसकेपछि खोज तथा उद्दार गर्ने राहत सामग्री वितरण गर्ने लगायत कुराहरू प्रतिकार्य योजनामा समेटिने भएका छन् ।

भूकम्पीय जोखिमको हिसाबमा नेपाल ११औँ स्थानमा रहेको छ भने बाढी तथा पहिरो प्रकोपको हिसाबमा नेपाल ३०आ स्थानमा रहेको छ । भूकम्पीय जोखिमका हिसाबले नेपालको सन्दर्भमा सुदूरपश्चिम प्रदेश पहिलो स्थानमा रहेको भूगर्वविदले जानकारी दिएका छन् ।

प्रतिक्रिया