म बोल्छु, बाध्यात्मक भोगाइ…

सबैले आफ्ना पेसा अपनाउँदा आइपर्ने समस्या खुलेर राखिरहेको अवस्थामा देशभरका ५६ हजार यौनकर्मी महिला भने खुल्न सकिरहेका छैनन् । उनीहरूले आफ्ना दैनिक कार्यबारे बोल्न पाएका छैनन् । यौनकर्मी महिलाको प्रतिनिधित्व गर्दै आएकी कमला खड्काको माग एउटै छ, ‘यौन’लाई पेसाको रूपमा मान्यता दिनुपर्छ ।

‘द्वन्द्वको पीडामा परेँ, पढ्न पाइनँ, बाल्यकामै म बलात्कारमा परेँ,’ उनले आफ्नो पीडा सुनाउँदै भनिन्, ‘१३ वर्षको उमेरमा बलात्कारमा परेँ भन्ने मलाई के थाहा, तर छोरी बलात्कारमा परेकी भनेर मेरो परिवार नै गाउँबाट निकालियो ।’ कमलालाई अपांग भएका बाबु र बहिनी, बिरामी आमाको उपचार गर्नुपर्ने मात्र होइन, खाने र कोठा भाडा जुटाउनुपर्ने जिम्मेवारी १३ वर्षकै उमेरमा आइलाग्यो । ‘काठमाडौं आएर काम गर्न थाले, साहुले पैसा नदिने, दैनिक यौन शोषण गर्ने गथ्र्याे’ उनले आफ्ना विगतका भोगाइ सुनाउँदै भनिन्, ‘जुन काम गरे पनि मलाई बलात्कार गर्ने वा यौन कार्यमा जबर्जस्ती लगाउने भएपछि किन यौनलाई पेसा नबनाउने भनेर मैले यही पेसा सुरु गरे ।’

उनको परिवारको सदस्यका लागि महिनामा १५÷१६ हजार रुपैयाँको त औषधि नै किन्नुपर्छ । कमला खड्काले यौन व्यवसायबाट आर्जेको रकमबाट बाबुआमा र अपांग बहिनीको उपचार तथा अर्की बहिनीको पढाइ खर्च धानिरहेकी छन् । समाजले जे भने पनि उनलाई भने आफ्नो पेसाप्रति गर्व छ । ‘परिवेश, समाज, पारिवारिक अवस्थाले मलाई यौन पेसा गर्न बाध्य बनायो, मैले यो पेसालाई पैसासँग दाँजेर स्वीकार गरेको छु, यति यो काम पनि नगरे मेरो परिवारको गुजारा चल्दैन,’ उनले भनिन्, ‘म त प्रतिनिधि पात्र मात्रै हुँ, अरू पनि धेरै दिदी बहिनी यौन पेसामा छन् ।’

कमलाका अनुसार यौन पेसामा रहरले भन्दा पनि बाध्यताले धेरै महिला आएका छन् तर रहरले भने पुरुषहरू जाने गर्छन् । त्यो पेसामा जाने पुरूष यही समाजका हुन् अरू कहीँबाट आएका होइनन् । यौनकर्मी महिलालाई केही प्रहरीले भने पक्राउ गर्ने धम्की दिएर पनि यौन शोषण गर्ने गरेका उनीहरूको गुनासो छ । ‘मैले भनेको ठाउँमा नआए, पक्राउ गरेर पत्रकारमाझ सार्वजनिक गरिदिन्छु भनेर प्रहरीले तर्साउँछ, अदालतमा मुद्दा पुग्दासम्म अदालतको एक कर्मचारीले पनि मसँग यौन सम्पर्क राख्नुभयो, मैले मुद्दा जितेँ,’ कमलाले आफ्नो भोगाइ र सामाजिक अवस्थाका बारेमा सुनाइन् ।

मिडिया एडभोकेसी ग्रुप र सम्झौता नेपालले १६ दिने महिला हिंसाविरूद्धको दिवसका अवसरमा लैंगिक समानताका लागि ‘म बोल्छु’ नामक कार्यक्रममा यौनकर्मी कमलाले यौनलाई महिलाले पेसाका रूपमा ढुक्कसँग अपनाउन पाउनुपर्ने माग गरे ।

यही सन्दर्भमा राष्ट्रिय जनता पार्टी (राजपा)का उपाध्यक्ष निलम वर्मासँग सत्य बोल्दा पीडित भएको अनुभव छ । ‘मलाई अन्याय भयो, न्याय चाहियो भनेर बोल्न नसक्दा धेरै महिला पछि परेका छन्, तर मचाँहि बोलेर पीडित भएको मान्छे हुँ, संविधानसभा सदस्य भएकी वर्माले भनिन्, ‘पार्टीमा कामको मूल्यांकन हुँदैन, काम गर्ने मान्छेको कामको मूल्यांकन नगरेपछि बोल्नुपर्छ, त्यही बोलीले पीडित बनाउँछ ।’

‘काम गर्नेको कदर हुनुपर्छ’ भन्ने राजनीतिमा उनको मुख्य माग हो । आफ्ना माग पूरा नभएपछि उनले धेरै पटक पार्टीमा बोल्नुपरेको छ तर सुनुवाइ नहुँदा पीडा त्यतिकै महसुस गर्ने गरेको सुनाइन् । नेत्री वर्मा भन्छिन्, ‘तराईमा बसेर राजनीति गर्नुको पीडा कति हुन्छ, मैले भोगेको छु, दुःख एउटाले गर्छ, पद नेताको श्रीमती, बुहारी, नातेदारले पाउँछन्, अनि बाध्य भएर बोल्नुपर्छ ।’ निडर स्वभावकी उनी ३५ वर्षदेखि निरन्तर राजनीतिमा क्रियाशील छिन् । नेत्री वर्माले आफ्ना राजनीतिकमा काम गर्दाका अनुभव सुनाइन् । तराई दाइजो, छोरालाई पढाएबापत छोरी पक्षले धेरै दाइजो दिनुपर्नेजस्ता अनेक विकृतिका विरुद्ध उनी खरो रूपमा आवाज उठाउने नेत्रीका रूपमा परिचित छिन् ।

सामान्य परिवार र समृद्ध परिवारमा रहेर काम गर्दाका अनुभव, पीडा र भोगाइ फरक छन् । साथी नामक संस्थाका अध्यक्ष उमा राज्यलक्ष्मी शाह सम्भ्रान्त परिवारको बुहारी हुन् । तर, उनीलाई आफ्नै खर्च जुटाउन हम्मेहम्मे छ । ‘म राणा खान्दानको मान्छे, सम्भ्रान्त परिवारको बुहारी हुँ तर घरबाहिर काहीँ जान पाइँदैन थियो,’ उनले आफ्नो विगत सुनाउँदै भनिन्, ‘साथीले एउटा संस्था खोलौँ भनेर प्रस्ताव ल्याए, संस्था खोल्न पैसा चाहिने रैछ, आफूसँग एक पैसा थिएन, सम्भ्रान्तको बुहारी तर के गर्नु, पछि साथीले पैसा हालेर खोले अहिले पनि चलिरहेको छ ।’ हिम्मतले घरबाट निस्किएर उनले उच्च शिक्षा हासिल गरेर सफलतापूर्वक काम गरिरहेकी छन् ।

‘समाजको सोच’ अझै पनि बदलिन सकेको छैन । घरमा श्रीमतीलाई सघाउने श्रीमान्ले ‘जोइटिंग्रे’ को दर्जा पाउँछ । चर्चित फोटो पत्रकार विकास रौनियारको अनुभव यस्तै छ । ‘म भात पकाउँछु, भाँडा माझ्छु, घर बढार्छु र घर पुस्छ,’ उनले आफ्नो अनुभूति सुनाए, ‘आफ्नो घरको काम गर्दा जोइटिंग्रे भनेको सुन्दा मलाई त गर्व लाग्छ, कम्तीमा मैले घरमा काम गरेर त्यो दर्जा प्राप्त गरेको छु ।’ उनकी श्रीमती सम्झना बुढाथोकी चलचित्र निर्देशक हुन् । उनी भन्छन्, ‘श्रीमती पढाइ र कामका व्यस्त हुँदा सहयोग सबैले गर्नुपर्छ ।’

कानुनले समाजमा महिला, पुरूषबीच मात्र विवाह हुन्छ भन्ने परिकल्पना गर्दा ब्लु डाइमन्ड सोसाइटीका पिटर राईले विवाहका लागि ‘वर’ खोज्न पाएका छैनन् । पिटर समलिंगी पुरुष हुन् तर पुरुष÷पुरुष विवाह गर्ने कानुन नेपालमा बनेको छैन । ‘म यही देशको नागरिक हुँ, ३० वर्षमुनिको नागरिकलाई जीवनसाथी चुन्ने अधिकार कानुनले दिएको छैन,’ उनले सुनाए, ‘बाबु आमाले त छोरालाई ‘ज्वाइँ’ खोज्न जाने आँटै छैन, त्यो समाज, त्यो सोच कसरी बाबुआमाले आँट गर्नु, त्यही भएर बाबुआमाले विवाहको कुरै गर्नुहुन्न ।’

नेपालको संविधानले यौनिक तथा अल्पसंख्यक भनेर अन्यका रूपमा नागरिकता प्रदान गरेको छ तर समलिंगी विवाहका लागि कानुनीरूपमा व्यवस्था गरेको छैन । म बोल्छु कार्यक्रम म्यागले विगत तीन वर्षदेखि सञ्चालन गर्दै आइरहेको छ । म्यागका संस्थापक अध्यक्ष बबिता बस्नेतले आगामी दिनमा पनि यस कार्यक्रमलाई निरन्तरता दिने र फरक क्षेत्रका भोगाइ, संघर्ष सुन्ने अवसरका रूपमा लिने जानकारी दिइन् ।

प्रतिक्रिया