महिला फुटबलमा नेपालको फाइनल यात्रा

पोखरा । नेपाली फुटबल टोली १३औँ दक्षिण एसियाली खेलकुद (साग) को महिला फुटबलको फाइनलमा पुगेको छ । लगातार दोस्रो खेल जित्ने क्रममा बिहीबार माल्दिभ्सलाई ३–० ले हराएपछि नेपाल लगातार तेस्रोपटक साग महिला फुटबलको उपाधिनजिक पुगेको हो । नेपालका लागि सावित्राले ह्याट्रिक गरेकी थिइन् ।

पहिलो हाफमा २ गोल गरेकी सावित्राले इन्जुरी समयको पहिलो मिनेटमा पेनाल्टी गोल गर्दै ह्याट्रिक पूरा गरेकी हुन् । उनले १८औँ मिनेटमा पहिलो र २२ औं मिनेटमा दोस्रो गोल गरेकी थिइन् । पहिलो गोलले उनलाई नेपालको सर्वाधिक गोलकर्ता बनाएको छ ।

भारतले यसअघि नै फाइनलमा स्थान पक्का गरिसकेको छ । तेस्रोपटक नै नेपाल र भारतबीच साग महिला फुटबलको फाइनल हुने भएको छ । यसअघि सन् २०१० र २०१६ मा यी दुई टोली नै फाइनलमा भेट भएको थियो । यसपटक पनि दुवै टोलीले राउन्ड रोविन लिगको एक खेल बाँकी रहँदै फाइनलमा स्थान सुरक्षित गरिसकेका छन् । फाइनल अघि राउन्ड रोविनमा भारत र नेपालबीच शनिबार प्रतिस्पर्धा हुनेछ ।

यसअघिका दुवै संस्करणमा भारतले स्वर्ण र नेपालले रजतपदक जितेका छन् । सागमा मात्र होइन महिला साफ च्याम्पियनसिपमा पनि यी दुई टोलीबीच नै सबैभन्दा बढी फाइनल हुँदै आएको छ । पाँच मध्ये ४ पटक भारत र नेपालबीच नै फाइनल भएको छ । जसमा भारत सधै विजेता र नेपाल उपविजेता बन्दै आएका छन् ।

सावित्रा सर्वाधिक गोलकर्ता
यसैबीच, महिला राष्ट्रिय टोलीकी स्ट्राइकर सावित्रा भण्डारी ‘सम्बा’ नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी बनेकी छन् । सागमा माल्दिभ्सविरुद्ध गोल गर्दै साम्बारले सर्वाधिक गोलकर्ता बनेकी हुन् ।

उनले माल्दिभ्सविरुद्ध १८औँ मिनेटमा गोल गर्दै अनु लामा (३५ गोल) लाई पछि पारेकी हुन् । सावित्राको त्यो ३६औँ अन्तर्रा्िष्ट्रय गोल थियो । सोही खेलमा उनले ३७ औं र ३८ औं अन्तर्राष्ट्रिय गोल पनि पूरा गरिसकेकी छन् । उनले २२औं मिनेटमा दोस्रो र इन्जुरी समयमा गोल गर्दै ह्याट्रिक पूरा गरेकी हुन् ।

नेपाली पुरुष खेलाडीलाई साम्बाले निकै पछाडि छाडेकी छन् । पुरुषतर्फबाट महिला राष्ट्रिय टोलीका वर्तमान मुख्य प्रशिक्षक हरि खड्का र निराजन रायमाझी सर्वाधिक गोल गर्ने खेलाडी हन् । उनीहरूको समान १३गोल छ । निराजनले सन् २००८ मा माल्दिभ्समा पाकिस्तानविरुद्ध गोल गर्दै हरिसँग बराबरी गरेका थिए ।

प्रतिक्रिया