खेल-खेलाडी

भारोत्तोलनमा नेपालको कीर्तिमान

सौर्य अनलाइन २०७६ मंसिर २० गते ७:३१ मा प्रकाशित

काठमाडौं । नेपालकी संगीता राईले १३आँैं दक्षिण एसियाली खेलकूद (साग) अन्तर्गत भारोत्तोलन प्रतियोगितामा कास्य पदक जित्दै राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् ।  तेह्रौँं दक्षिण एसियाली खेलकूद(साग) अन्तर्गत पोखरा –१२, माटेपानीस्थित एसआर केसी बैंक्वेटमा शुक्रबारदेखि सुरु प्रतियोगितामा उनले ४५ केजी तौल समूहमा १२७ केजी भार बहन गर्दै करिना चौधरीको नाममा रहेको रेकर्ड तोडेकी हुन् ।

२६ वर्षीया राईले स्न्याचमा ५७ र क्लिन एन्ड जर्कमा ७० गरी कुल १२७ केजी भार बहन गरेकी हुन् । यसअघि छनोट चरणमा चौधरीको नाममा स्न्याचमा ४७ र क्लीन एन्ड जर्कमा ६५ सहित ११२ केजीको रेकर्ड रहेको भारोत्तोलनका लागि नेपालका प्रशिक्षक दिनेश भुजेलले जानकारी दिए ।

उक्त खेलमा भारतकी झिली डालाबेराले स्न्याचमा ६६ र क्लिन एन्ड जर्कमा ८५ गरी १५१ भार बहन गर्दै स्वर्ण जितिन् भने श्रीलंकाकी सीमारी सामाराकूलले १३९ भार बहन गर्दै रजत जितिन् । श्रीलंकन खेलाडीले स्न्याचमा ५८ र क्लिन एन्ड जर्कमा ८१ केजी भार बहन गरेकी हुन् । यसैगरी, ४९ केजी महिलातर्फ भारतले स्वर्ण जित्यो ।

प्रतियोगितामा श्रीलंकाले रजत र बंगलादेशले कास्य जितेको छ । भारतकी स्नेहा सोरेनले स्न्याचमा ६८ र क्लिन एन्ड जर्कमा ८९ गरी कुल १५७ केजी भार बहन गर्दै श्रीलंकन खेलाडी हसानीलाई पछि पारिन् । हसानीले स्न्याचमा ७१ र क्लिन एन्ड जर्कमा ८४ गरी कुल १५५ केजी भार बहन गर्दै रजतमा सीमित भइन् ।

बंगलादेशकी मोला सविराले १३० केजी भार बहन गर्दै कास्यमा चित्त बुझाइन् । उनले स्न्याचमा ५५ र क्लिन एन्ड जर्कमा ७५ केजी भार बहन गरेकी हुन् । विजयीलाई शुक्रबारैै पदक हस्तान्तरण गरिएको छ । चार दिनसम्म चल्ने प्रतियोगितामा माल्दिभ्सबाहेक सबै देशको सहभागिता छ ।

भुटानको यो पहिलो सहभागिता हो । महिला र पुरुषतर्फ दश÷दश तौल समूहमा प्रतिस्पर्धा हुनेछ । बिहीबार नै पुरुषतर्फ ५५ र ६१ केजी तथा महिलातर्फ ५५ र ५९ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय