खोजखबर

भिर माहुरीको मह काढ्न अनुमति चाहिने

सौर्य अनलाइन २०७६ मंसिर २० गते ६:३२ मा प्रकाशित

खोटाङको केपिलासगढी गाउँपालिकाले आफ्नो सीमा क्षेत्रभित्र पाइने भिर माहुरीको मह काढ्दा अनिवार्य रूपमा अनुमति लिनुपर्ने व्यवस्था लागू गरेको छ । लोपोन्मुख अवस्थामा पुगेको भिर माहुरीको मह पछिल्लो समय स्थानीयले अवैध रूपमा काढ्ने र अन्यत्र निकासी गर्न थालेपछि नियन्त्रण र संरक्षण गर्न सो गाउँपालिकाले यस्तो व्यवस्था लागू गरेको हो ।

गाउँपालिकाभित्र पर्ने चारवटा वडामा मात्र पाइने भिर माहुरीको मह स्थानी केही व्यक्तिको समूहले मनपरी तरिकाले काढेर निकासी गर्न थालेपछि गाउँ कार्यपालिकाको बैठक बसेर नियन्त्रण गर्दै संरक्षण गर्ने अभियान सुरु गरिएको गाउँपालिका प्रमुख कृष्णकुमार राईले बताएका छन् ।

‘सामुदायिक र सार्वजनिकस्थलमा हुने भिर माहुरीको महबाट निश्चित व्यक्तिले मात्र फाइदा लिने र लापरवाही गरेर मह काढ्दा माहुरी नै लोप हुने अवस्था आएको छ’, उनले भने, ‘अनुमति लिएर माहुरी काढ्दा संरक्षणमा समेत सहयोग पुग्ने भएकाले मिति तोकेर भिर माहुरीको मह काढ्ने व्यवस्था गरिएको हो ।’

गाउँपालिकाले गरेको निर्णयअनुसार मंसिर १५ देखि २५ गतेभित्र र जेठ १५ देखि २५ गतेभित्र भिर माहुरीको मह काढ्ने मिति तोकिएको छ । तोकिएको मितिमा माहुरी नमर्ने गरी मह काढ्न सबैलाई आग्रह गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले गरेको निर्णयअनुसार आगामी दिनमा मह काढ्ने व्यक्ति तथा समूहले सम्बन्धित वडालाई खबर गर्नुपर्छ अनि वडाले गाउँपालिकालाई सूचना दिनुपर्ने व्यवस्था गरिएको छ । ‘भिर माहुरी र मह काढेको हेर्न इच्छुकका लागि गाउँपालिकाले प्रचारप्रसारसमेत गर्नेछ’, गाउँपालिका प्रमुख राईले भने, ‘यसले गाउँपालिकामा आन्तरिक तथा बाह्य पर्यटकसमेत वृद्धि हुने अपेक्षा गरेका छौँ ।’ भने मह काढेने काम पनि व्यवस्थित हुनेछ ।

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सो गाउँपालिकाको बाक्सिला, फेदी, दिप्सुङ र सुङ्देलका ठूला भिरहरूमा लामो समयदेखि भिर माहुरी बस्ने गरेको छ । वर्षमा दुईपटक मंसिर र जेठमा काढ्न मिल्ने भिर माहुरीको मह सो क्षेत्रबाट वार्षिक रूपमा लाखौँ मूल्य बराबरको निकासी हुने गरेको स्थानीयवासीले बताएका छन् ।

परम्परागत प्रविधि अपनाएर काढ्दै आएको भिर माहुरीको मह यस वर्षबाट आधुनिक प्रविधि अपनाएर काढ्ने व्यवस्था मिलाइने गाउँपालिकाले जनाएको छ । मह काढ्ने मुख्य व्यक्तिले सुरक्षा पेटी (बेल्ट) समेत नलगाउने र चोयाका पुराना लठ्ठा प्रयोग गर्ने हुँदा दुर्घटनाको उच्च जोखिम हुने भएकाले आगामी दिनमा सुरक्षा बेल्ट तथा प्यारासुट (डोरी) को व्यवस्था गाउँपालिकाले मिलाउने जनाइएको छ ।

उत्तरी क्षेत्रका स्थानीयवासीको प्रमुख व्यापारिक केन्द्रमा पर्ने सो गाउँपालिका भिर माहुरीको मह उत्पादनका लागि प्रचुर सम्भावना भएको क्षेत्रमा पर्दछ । गाउँपालिकामा उत्पादन हुने महलाई व्यवस्थित तरिकाले निकाल्ने र प्रशोधन गरेर अन्यत्र निर्यात गर्ने योजना बनाइएको गाउँपालिका प्रमुख राईले बताए ।

स्थानीयस्तरमा उत्पादन हुने भिर माहुरीको महबाहिर निर्यात गर्दा वडा र गाउँपालिकाको राजश्व संकलनमा समेत सहयोग पुग्ने देखिन्छ । उक्त चार वडालाई आगामी वर्ष भिर माहुरीको पकेट क्षेत्र घोषणा गर्ने तयारी गरिएको गाउँपालिकाले जनाएको छ ।

कोपिलासगढी गाउँपालिका प्राकृतिक स्रोत र साधनले भिरपूर्ण गाउँपालिकाले भएकाले प्राकृतिक पर्यटनका रूपमा विकास गर्न पहल गरिरहेको प्रदेशसभा सदस्य राजन राईले बताए । ‘यो गाउँपालिकामा भिर माहुरी, असला माछा, रेड पान्डालगायत लोपोन्मुख जीवजन्तुसमेत प्रत्यक्ष हेर्न पाइन्छ’, स्थानीयवासीसमेत रहेका सदस्य राईले भने, ‘यसलाई प्रवद्र्धन गर्दै प्राकृतिक पर्यटनका रूपमा विकास गर्न आफ्नो तर्फबाट सक्दो पहल गरिरहेको छु ।’

प्रदेशसभा सदस्य राईले आफ्नो चुनावी घोषणापत्रमा समेत उक्त क्षेत्रलाई प्राकृतिक पर्यटन विकासका रूपमा विकास गर्ने उल्लेख गरेका थिए । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यसमेत रहेका राईले आफ्नो क्षेत्रमा रहेको प्राकृतिक स्रोत र साधनलाई संरक्षण गर्न स्थानीयलाई समेत अनुरोध गरेका छन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय