‘लिम्बू भाषा’ को वार्षिकोत्सव मनाइँदै

इलाम । माङसेबुङ गाउँपालिकामा स्थानीय ‘लिम्बू भाषा’ सरकारी कामकाजी घोषणाको वार्षिकोत्सव मनाइने भएको छ । वडा–५ मा ‘लिम्बू भाषा’ लाई सरकारी कामकाजी घोषणा गरेको एक वर्ष पूरा भएको उपलक्ष्यमा शुक्रबार विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाउन लागिएको हो ।  दिउँसो औपचारिक कार्यक्रम गरी वडा कार्यालयमा दीप प्रज्वलन, सम्मान र अन्तरक्रिया तथा साँझ वडावासीले सामुहिक र घरघरमा दीपावली गरी वार्षिकोत्सव मनाउने तयारी गरिएको वडाध्यक्ष नरेन्द्रकुमार राईले जानकारी दिए । गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोको प्रमुख आतिथ्यतामा वडा कार्यालय परिसरमा १ लाख १ हजार १ सय ८ दीप प्रज्वलन गर्नुका साथै दोभासे स्वयमसेवलाई सम्मान र अन्तरक्रिया कार्यक्रम तय भएको छ ।

कार्यक्रममा भाषा अनुवादका लागि नियुक्त गरिएका पाँच जना दोभासे स्वयंसेवकलाई सम्मान गरिने भएको छ । भाषा अनुवादकका रूपमा स्वयंसेवक दिलहाङ शेर्मा, इन्द्र आङदेम्बे, ललितचन्द्र फियाक, सञ्चहाङ साम्बहाम्फे र खेसेहाङमा थेगिमलाई सम्मानका साथ बिदाइ गरिनेछ । ‘लिम्बू भाषा’ सरकारी कामकाज घोषणा भएपछि कर्मचारी व्यवस्थापन नभएसम्मका लागि उनीहरूलाई स्वयंसेवकका रूपमा राखिएको थियो ।

गत १३ मंसिरमा माङसेबुङ गाउँपालिका–५ मा पहिलोपटक ‘लिम्बू भाषा’ लाई सरकारी कामकाजी भाषाका रूपमा घोषणा गरिएको थियो । वडाका कुल जनसंख्यामध्ये ६० प्रतिशतभन्दा बढी लिम्बू समुदायको बसोवास रहेको सो वडामा नेपालमै पहिलोपटक स्थानीय भाषालाई सरकारी कामकाजी भाषाका रूपमा लागू गरिएको थियो ।

‘इतिहासमा पहिलोपटक यहाँको स्थानीय लिम्बू भाषालाई कामकाजी भाषाका रूपमा लागू गरिएको स्मरणमा वार्षिकोत्सव मनाउन लागिएको हो’, वडाध्यक्ष राईले भने, ‘यो ऐतिहासिक कामलाई कसैले नबिर्सियोस् भनेर प्रत्येक वर्ष दीपावली गरेर वार्षिकोत्सव मनाइनेछ ।’ ‘लिम्बू भाषा’ र ‘किरात सिरिजंगा लिपि’ को आधार क्षेत्र रहेको सो वडामा भाषा र लिपिलाई सरकारी कामकाजमा प्रयोग सुरु गरिएको थियो । नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले प्रत्यायोजन अधिकारलाई प्रयोग गरी ‘लिम्बू भाषा’ लाई सरकारी कामकाजी भाषाका रूपमा लागू गरी सञ्चालन भइरहेको छ ।  सो वडामा भाषा अनुवादकका रूपमा सहायक चौथो तहको एक जना दोभासे कर्मचारीको व्यवस्थापनको तयारी गाउँपालिकाले गरेको छ ।

प्रतिक्रिया